३१ भदौ, काठमाडौं । ६० किलो सुन प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले २९ जनालाई प्रतिवादी बनाई अभियोजन दर्ता गरेको हो । कार्यालयले ३०४ पृष्ठ लामो विस्तृत अभियोगपत्र दर्ता गरेको हो ।
कार्यालयले याओ पुचेङ, दावा छिरिङ, थुप्टिङ छिरिङ, हर्कराज राई, कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पारजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सरार्फ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ, रुक्मिना सुब्बा, भोला साह सोनार, जीवन चलाउने र अमला रोकालाई प्रतिवादी बनाई अभियोग दर्ता गरेको हो । जसमध्ये भोला साह सोनार, जीवन चलाउने र अमला रोका फरार छन् ।
उनीहरुलाई अवैध रुपमा सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक अन्तर्गतको कसूर तथा संगठित अपराधमा कारबाही गर्न माग गरिएको छ । कार्यालयले प्रतिवादीहरुबाट ३ अर्ब ५० करोड ३० लाख बिगो दावी गरेकाे छ ।
सुन प्रकरणमा ३२ जना पक्राउ परेका थिए । तर ३ फरार सहित सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मात्र अभियोग दर्ता गरेपछि ६ जना भने आजै छुट्ने भएका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले अवैध सुन पैठारी तथा संगठित अपराधमा अनुसन्धान गरी भदौ २७ गते बुधबार राय सहितको प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज अभियोजन दर्ता गरेको हो ।
गत साउन २ गते सिनामंगलबाट ब्रेक शुमा लुकाएर ल्याइएको सुन बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट बरामद गरेको थियो । १६० सेट बे्रक शु भित्र रहेको सुन पगाल्दा सुनको परिमाण ६० किलो ७१६ ग्राम भएको थियो । राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान प्रधानमन्त्रीको आदेशमा साउन २१ गते सीआईबीको जिम्मा लगाइएको थियो ।
यो प्रकरणमा सीआईबीले ३२ जनालाई पक्राउ परेका थिए । जसमा २३ नेपाली र ९ विदेशी छन् । पक्राउ परेका नेपालीहरुमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गरी माल वस्तु व्यवस्थापन गर्ने २ जना र सुनको कारोवारमा संलग्न ११ जना छन् । जसमध्ये २९ जनाविरुद्ध मुद्दा दर्ता भएकाे छ ।
उनीहरुलाई भन्सार ऐन, संगठित निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता ऐन, नोपल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐन अनुसार कारवाही गर्न राय पेश गरेको थियो ।
यो समूहले ७ ओटा कम्पनी दर्ता गरेर कारोबार गरेको देखिएपनि समय अभावका कारण एउटा मात्र कम्पनी रेडी ट्रेडले गरेको कारोबार सम्बन्धमा मात्र अनुसन्धान गरेको सीआईबीले जनाएको छ । सीआईबीको अनुसन्धानमा रेडी ट्रेडबाट मात्र ३०२.६२ किलो सुन भन्सार छलेर भित्र्याइएको देखिएको छ । जसको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबर हुन्छ । तस्करहरुले ब्रेक शु सहित बिभिन्न इलेक्ट्रिक सामानहरुमा आएको सुन टोखा र लाजिम्पाटमा रहेको फ्याक्ट्रिमा पगाल्ने गरिएको थियो । उक्त फ्याक्ट्रिबाट १० ओटा सुन गाल्ने मेसिन समेत बरामद गरेको छ ।