काठमाडौँ । रवि लामिछानेलाई सङ्गठित अपराधको मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिल कार्यालय प्रमुखको सरकारले सरुवा गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख एवम् जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद लुइँटेललाई रविको मुद्दा दर्ता भएको केही घण्टामै चितवनबाट सरुवा गरेर काठमाडौँ तानिएको हो ।
आकस्मिक रुपमा आफ्नो सरुवा भएको लुइँटेलले सिधाकुरालाई बताए । ''मेरो सरुवा भएको छ, चितवन आएको १५ महिना मात्रै भएको थियो,'' उनले भने, ''अहिले काठमाडौँ फर्कँदै छु।''
उनी २०८० मंसिरमा चितवन सरुवा भएर आएका थिए । सरकारी वकिलहरूको सरुवा सामान्यतया हरेक २ वर्षमा गर्ने गरिन्छ । सरकारले भनेको जस्तो मुद्दा नचलाएका कारण उनको सरुवा भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोत बताउँछ । तर, लुइँटेलले रविको मुद्दा दर्ता र आफ्नो सरुवाबारे भने केही बोल्न मानेनन् ।
जिल्ला सरकारी वकिल कार्यालय चितवन स्रोतकाअनुसार रविमाथि सङ्गठित अपराधमा समेत मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयबाट जिल्ला न्यायधिवक्ता लुइँटेलमाथि तीब्र दबाब थियो ।
तर, उनले सहकारीको रकम गोर्खा मिडियामा लैजान रविको संलग्नता नदेखिएको भन्दै सङ्गठित अपराधको मुद्दा नचलाउने निर्णय गरेका थिए ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा सोमबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले ३२ जना व्यक्ति र ६ वटा संस्था विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।
जसमध्ये गोरखा मिडियाको सञ्चालक रहेका जिबी राई, छविलाल जोशी र कुमार रम्तेल विरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराधको पनि मुद्दा लागेको थियो । रविलाई भने सरकारी वकिल कार्यालयले सहकारी ठगिको मात्रै मुद्दा दायर गरेको थियो ।