
काठमाडौँ । काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो ।
दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला हुनुभएको थियो । काष्ठमण्डपमा सामूहिक टीका लागि एक सय ५० बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिनुभयो । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उहाँको भनाइ छ ।
आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताउनुभयो । अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गर्नुभएको थियो ।
कार्तिक २९, २०८० १०:४० मा प्रकाशित