
काठमाडौं । ठमेलमा ड्यूटीमा खटिएका प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी सहित पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न मागेको थियो भने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०-१० हजार रुपैयाँ धरौटी मागेको थियो । अहिले सबै जना धरौटी बझाएर रिहा भएका छन् ।
उनीहरुले माघ २४ गते राति ठमेलमा मोटरसाइकलमा सवार प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए ।