
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत कात्तिक १० गते ११ सय ५६ केजी लागू औषध गाँजा नियन्त्रणमा लिएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ मैनाचौकबाट प्रदेश–३०१–०२३ च ११२९ नम्बरको पिकअप भ्यानबाट सो परिमाणको लागू औषध नियन्त्रणमा लिएको थियो ।
पिकअप भ्यान छोडेर चालक सहचालक भागेपछि प्रहरीले पौष ७ गते ललितपुर वडा नं. १५ तिखेदेवलबाट मकवानपुर कैलाश गा.पा.वडा नं. ३ का अर्पण सिन्तान भन्ने सुकुलाल सिन्तान र पौष २५ गते सोही स्थानका मानसिंह गोङलाई पक्राऊ गरेको थियो । पक्राऊ गरेको उपर आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् ।
मकवानपुर प्रहरीले यस अघि आफूहरुले गरेको दैनिक क्रियाकलापको बारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै आएको छ । तर ४ महिना अघिको यो विषयलाई मकवानपुर प्रहरीले गुपचुप जस्तै राखेर सार्वजनिक नै गरेको थिएन । यो विषयका सम्बन्धमा सार्वजनिक रुपमै प्रश्न आएपछि मात्रै साढे ११ क्वीन्टल लागू औषध गाँजाको विषय मकवानपुर प्रहरीले ४ महिनापछि हिजो सार्वजनिक गरेको थियो ।
अनुसन्धानका क्रममा रहेकोले यो विषय सार्वजनिक नगरिएको दाबी गरेको मकवानपुर प्रहरीले अनुसन्धानका लागि व्यक्ति नियन्त्रणमा लिएकै ४५ दिन बढी भईसकेको सन्दर्भमा सार्वजनिक गर्न किन ढिलो गरेको ? भन्ने प्रश्नमा मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले मानवीय त्रुटिका कारण यो विषय सार्वजनिक गर्न छुटेको दाबी जवाफ दिए । ढिलोगरी सार्वजनिक हुनमा आफूहरुको कमजोरी भएको मकवानपुर प्रहरीले स्वीकार गरेको छ ।