
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेका छन् ।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले केबलकार बनाउन नहुने माग राखेका जनतामाथि बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताए ।
उनले नचाहँदा नचाहँदै पनि प्रहरीहरू आन्दोलनकारी विरुद्ध सरकारका कारण लाग्न परेको पनि दाबी गरे । ‘‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ ।
त्यसलाई रोकेर वार्ता र संवादबाट त्यसलाई रोकियोस् । यदि रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ,’ प्रचण्डले भने ।
पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको प्रचण्डको भनाई छ । यहाँ बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई प्रचण्डले आग्रह पनि गरे ।
‘बल प्रयोगद्वारा हल गर्ने दुस्साहस सरकारले नगरोस् । यदि बल प्रयोग गरेर भावनाको मुद्दालाई इतिहास र पौराणिकताको विषयलाई हल गर्न खोज्यो भने त्यो दुर्भाग्य हुन्छ,’ प्रचण्डले भने ।