
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिका लगायत देशका बिभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपठाएकोमा सांसद ज्ञानेन्द्र शाहीले संसदमै आक्रोस पोखेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्नै सांसद शाहीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, सफाईकर्मीले तलब नपाएको जानकारी गराए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसको पाप लाग्ने बताए ।
उनले भने, ‘आज काठमाडौँ महानगरपालिका लगायत देशका सबै नगरपालिका, धेरै भन्दा धेरै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखिएको छ । देशका शिक्षक कर्मचारीहरु ठप्प छन् । काठमाडौँ महानगरमा सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई त्यसको पाप लाग्ला । आज शिक्षक, स्वास्थ्यकर्मीले तलब पाएका छैनन्, आज मेरो जुमलामा पनि त्यही हालत छ । आज ८३ हजार ५ सय ५८ जना निजामति कर्मचारीहरु के नेताको घरमा चाकडी गर्न र घरदैलो अभियान गर्न नियुक्ति गरिएको हो सम्माननीय सभामुख महोदय ?’
उनले थपे, ‘काठमाडौँ महानगरपालिलाई बन्धक नबनाइयोस्, फोहोर उठाउने मानिसको पाप लाग्ला ।’
उनले सरकारले देशभरीको स्थानीय तहको हालत खराब गरेको बताए । काठमाडाैँ महानगर लगायत देशका धेरै स्थानीय तहहरुमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासिनक कामहरु ठप्प भएका छन् ।