
काठमाडौँ । ६२ यात्रु बोकेको बुद्ध एयरको एउटा विमान अगाडीको टायर बिनै काठमाडौँमा अवतरण भएको छ । जनकपुरबाट ४ः४५ मा काठमाडौँका लागि उडेको बुद्ध एयरको नाइनएन-एएनएच कलसाइनकाे जहाज अगाडिको एउटा पाङ्ग्रा (नोज ह्वील) उड्ने बेलामा जनकपुरमा खसेकाे पाइएको हो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उक्त जहाजले काठमाडौँमा अगाडिको टायर बिना नै अवतरण गरेको छ।
काठमाडौंमा अवतरण गरिसकेपछि पोष्ट फ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको भुलले बताए ।
उनका अनुसार विमानको उक्त टायर जनकपुर विमानस्थलको रनवेको टर्निङमै खसेको पाइएको छ ।
बुद्ध एयरले पनि जनकपुरबाट काठमाडौं उडेकाे जहाजमा प्राविधिक गडबडी देखिएको बताएकाे छ । कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले जहाज सुरक्षित अवतरण गरिएकाे र हाल उक्त जहाजलाई प्राविधिक टाेलीलाई हस्तान्तरण गरिएको उनले बताए ।