
ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ई–बग्गीको परीक्षण सुरु गरेको छ । महानगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि ई–बग्गी परीक्षण गरेको हो ।
महानगरले सुरुको एक महिना परिक्षणका लागि महानगरभित्र ई–बग्गी चलाएको र त्यसको अनुगमन र सम्भाव्यता अध्ययन गरेर अन्य थप बग्गी चलाउने तयारी गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए । ‘एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनेर महानगरले सञ्चालनको योजना बनाइरहेको छ ।’, हाछेथुले भने ।
महानगरले पर्यटकलाई घुमाउनका लागि सो बग्गीलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन र सुन्धाराको रुटमा सञ्चालन गर्ने जनाएको छ । त्यस्तै परिक्षणकालमा उक्त बग्गीमा निशुल्क चढ्न सकिने र परिक्षणकाल सम्पन्न भएपछि पनि न्यून मुल्यमा पर्यटकलाई घुमाउने महानगरले जनाएको छ ।
ललितपुर महानगरपालिकाले अहिले होटल गुडविलसँगको सहयोगमा बग्गी लयाएर परिक्षण गरिरहेको जनाएको छ ।