
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई नै निरन्तरता दिने भएको छ । मन्त्रालयले महानगरलाई बुधबार एक पत्र लेख्दै गुरागाईँलाई काम गर्ने वातावरण सिर्जना बनाइदिन आग्रह गरेको हो ।
काठमाडौँ महानगरपालिकाले गुरागाईंले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै कारबाही गरेको थियो । महानगरले आफूलाई कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरेको भन्दै गुरागाईँले मन्त्रालयमा पत्र पठाएका थिए । सोही पत्रानुसार मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई आफ्नो काम गर्न वातावरण बनाइदिन आग्रह गर्दै पत्र लेखेको हो ।
‘तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज प्रसाद गुरागाईं (क.सं.नं. १७२७७६) ले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।’
मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै गुरागाईँलाई हालका लागि महानगरमै निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रालयले गुरागाईँलाई गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौँ महानगरपालिकामा पठाएको थियो ।