
काठमाडौँ । काठमाडौँको गौशाला धर्मशाला पुनः मारवाडी सेवा समाजले नै सञ्चालन गर्न पाउने भएको छ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरिदिएको छ । अदालतको सो आदेशपछि मारवाडी सेवा समाजले नै सो धर्मशाला सञ्चालन गर्न पाउने भएको छ ।
मारवाडी सेवा समितिको रिटउपर बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले सो आदेश दिएको हो । इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्न पाउने बताएको छ ।
पशुपति क्षेत्र विकास कोषले गत असोजमा मारबाडी सेवा समितिले सञ्चालन गरिरहेको धर्मशाला सञ्चालन र व्यवस्थापन गर्न महानगरसँग सम्झौता गरेको थियो ।
सो सम्झौतापछि धर्मशाला सञ्चालन गर्न पुगेको महानगर र मारवाडी सेवा समितिबिच झडपको समेत अवस्था सिर्जना भएको थियो । झडपकै बिच महानगरले सो धर्मशालामा आफ्नो बोर्ड राखेको थियो ।
सो निर्णयविरुद्ध मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो रिटउपर आदेश दिँदै अदालतले सो धर्मशाला सञ्चालनको अनुमति मारवाडी सेवा समितिलाई दिएको हो ।