चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर मुख्य चोकमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ ।
नजिकिदै गरेको दशैँ तिहार तथा छठ पर्वलाइ लक्षित गरेर यात्रुहरुका समस्या समाधानको लागी चन्द्रनिगाहपुरमा नागरिक सहायता कक्ष संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईले जानकारी दिए । नागरिक सहायता कक्ष मंगलबार देखि संचालनमा आएको हो ।
चाडवाडको समयमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजिकरणको लागि कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा आफुखुसी बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याईएको डिएसपी राईले बताए । यात्रुलाइ सवारी साधनमा यात्रा गर्दा कुनै समस्या परेका खण्डमा तुरुन्त नागरिक सहायता कक्षमा सम्पर्क गर्न डिएसपी राईले आग्रह गरेका छन ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले चाडबाडको मौका छोपी कसैले अनाधिकृत भाडा असुल गरेको पाइएमा तुरुन्त सम्पर्क गर्न आम नागरिकहरुलाइ आग्रह गरेका छन् । त्यसरी भाडा असुल गरेको जानकारी आएमा कारवाही गरिने समेत प्रहरी निरिक्षक अधिकारीले बताए । चाडबाडमा यात्रा गर्न सहज होस भन्ने मुख्य हेतुले यो नागरिक सहायता कक्ष स्थापना गरेको उनले बताए ।
यता इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चाडपर्वको अवसरमा हुन सक्ने चोरी, डकैती तथा लुटपाट जस्ता घटना हुन नदिन बैंक , वित्तिय संस्था तथा सुन चाँदी पसललाई लक्षित गरी विशेष गस्ती टोली परिचालन गर्न शुरु गरेको डिएसपी राईले जानकारी दिएका छन् ।