पोखरा । पोखरामा अवस्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिता परियारलाई तब ठुलो बज्रपात पर्यो जब उनको आमालाई पाठेघरको क्यान्सर रहेको पत्ता लाग्यो । मास्टर्स इन इंगलिस लिक्टेचरको चौथो वर्षमा अध्ययन गर्दै अध्यापन गराउने अनिताले पढाइका लागि किनेको ल्यापटप बेचेर आमा गङ्गा दमाईलाई केमोथेरापी चढाइरहेकी छिन् ।
गत भदौदेखि आमाको उपचारका लागि चितवन र पोखरा गरिरहेकी जलजला गाउँपालिका वडा नं ७, पर्वत निवासी उनकी आमालाई चार चरणसम्म केमोथेरापीबाट उपचार गरेपछि पाठेघरको शल्यक्रियाका लागि अहिले भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ । अपरेसनका लागि न्यूनतम पाँच लाख खर्च आवश्यक पर्ने भनिएपछि दमाईको परिवार त्यो खर्च गर्ने सक्ने अवस्थामा छैनन् । दाताहरूबाट प्राप्त २ लाख रुपैयाँ मात्र रहेको अनिता बताउँछिन् । ‘अस्पतालमा डाक्टरहरुले अप्रेशनको तयारी गर्नु भनेका छन्, मैले कहाँबाट पैसा ल्याएर आमाको उपचार गराउनु ’, अनिता भक्कानिइन् ।
केही समय पहिले बाबुको उपचारका लागि भएको घरजग्गाको लालपूर्जासमेत सहकारीमा धितो राखेको परिवारसँग पैसा जम्मा गर्ने कुनै आधार छैन । बाबुको उपचारको ऋण नसकिँदै आमा बिरामी भएपछि अनिता पढाई थाँती राखेर पैसा जुटाउन लागिपरेकी छिन् । ‘जग्गा बेच्न सहकारीमा ऋण तिर्नुपर्छ, यता आफ्नो पढाइ, जागिर, बिरामी आमा ।’
बिरामी आमाको उपचारका लागि उनका भाई जागिरको खोजीमा भारतमा भौँतारिइरहेका छन् । विभिन्न दाताले दिएको र विभिन्न ठाउँबाट लिइएको ऋण गरि जम्मा भएको ८ लाख रकम आमाकै उपचारमा खर्च भएको अनिता बताउँछिन् ।
आर्थिक अवस्था कमजोर मात्र हैन, सहयोगको याचना गर्न पनि परिवारले चिनेको कतै छैन । जतिसक्दो छिटो पैसा जम्मा गरे आमा बचाउन सकिने अस्पतालले जनाएपछि यतिबेला अनिताको सहयोगको अपिल गर्दै भौँतारिइरहेकी छिन् । ‘आशा, भरोसा र भगवानसँग प्रार्थना गर्न बाहेक आफूसँग कुनै विकल्प छैन ।’, अनिता भन्छिन् ।
उनी आफ्नी आमाको उपचारका लागि सहयोगी मनहरुलाई सहयोग गर्न अनुरोध गर्छिन् ।
गङ्गा दमाईलाई सहयोग गर्नका लागिः
बैँक खाता : एनएमबी बैङ्क खाता नम्बर १२१०२००९४१७००१२,
राष्ट्रिय वाणिज्य बैङ्क खाता नम्बर ३५००१००००००४१२०३