काठमाडाैँ । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईँका छोराले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको हो।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका प्रसाईँलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्नुपर्ने भन्दै उनका छोरा निराजन प्रसाईंले शुक्रबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौँ जिल्ला अदालतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अदालत उपस्थित गराउन आदेश दिएको हो ।
न्यायाधीश शर्माको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ।
दुर्गा प्रसाईंले केही समय पहिले निज निवासमा पत्रकार सम्मेलन गर्दै केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफ्नो फेसबुक अकाउन्टमार्फत सो अभिव्यक्तिलाई पुष्टि गर्न केही कागजात समावेश गरेर भिडियो सामाग्री बनाएर अपलोड गरेका थिए ।
सोही भिडियोलाई आधार बनाउँदै प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको थियो । प्रहरीले उनीमाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।