
पर्सा । पर्सामा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय नजिकको घाट सार्ने र पूजापाठ गर्ने निर्णय गरिएको छ । बुधबार विद्यालयका शिक्षक, अभिभावक र स्थानीय नेताहरूको बैठकले विद्यालयसँग टाँसिएको आर्यघाट अन्यत्र स्थानान्तरण गर्ने, मनोवैज्ञानिक परामर्श दिने र शान्ति स्थापनाका लागि पूजापाठ गर्ने निर्णय गरिएको हो ।
कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अचानक बेहोस हुन थालेपछि अभिभावकहरू चिन्तित बनेका थिए । सोमबार दर्जनौँ विद्यार्थीहरु बेहोश हुनथालेपछि गाउँपालिका प्रशासनले दुई दिनका लागि विद्यालय बन्द गरेको थियो ।
चिकित्सकहरूले यो घटनालाई ‘मास हेस्टेरिया’ भनेका छन्, जुन मानसिक प्रभावका कारण समूहमा देखिने एक प्रकारको सामूहिक मनोवैज्ञानिक अवस्था हो । तर, केही स्थानीयले भने भूतप्रेतको प्रभावका कारण यस्तो घटना भएको बताउने गरेका छन् ।
सोही कारण विद्यालय नजिकको घाट सार्ने र पुजापाठ गर्ने निर्णय गरिएको कालिकामाई गाऊँपालिकाका वडा नं.४ का अध्यक्ष संजय साहले बताए । उनका अनुसार विद्यालय प्रशासनले विद्यार्थीहरूलाई पुनः कक्षा सञ्चालन गर्नुअघि परामर्श दिने तयारी गरिरहेको जनाएको छ ।
