
काठमाडौँ । नेपाल प्रहरीले अमेरिकाबाट निष्काशन परि नेपाल फर्काइएका नेपालीहरुसँग सोधपुछ गरेको छ ।
नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरुलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरुसँग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । प्रारम्भीक सोधपुछका क्रममा केहि नेपालीहरु ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानून उल्लङ्घन गरेर फर्काइएको पाइएको उनले बताए । त्यस्तै उनीहरुले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए ।
‘प्रारम्भिक रुपमा कहीँ न कहीँ भिसा प्रोसेसिङका लागि एजेन्टहरु भएको बताउनुभएको छ ।’, प्रवक्ता कुँवरले भने, ‘उहाँहरु विरुद्ध तपाईँहरु मानव वेचविखनको मुद्दा हाल्नुहुन्छ त भनेर सोध्दा उहाँहरुले अहिलेसम्म अनिच्छा प्रकट गर्नुभएको छ ।
बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरुलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।