काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीका प्रमुख सचेतक रमेश लेखकले एक सूचना जारी गर्दै फागुन ३० गते प्रधानमन्त्रीको विश्वासको मत लिने दिन संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका हुन्।
२१ फागुनमा गठबन्धन फेरेर नयाँ सत्ता समीकरण तय गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । ‘फागुन ३० गतेको दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न अनुरोध गरिन्छ,’ प्रमुख सचेतक लेखकले जारी गरेको सूचनामा भनिएको छ ।
प्रधानमन्त्री दाहालले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी सहितको नयाँ गठबन्धन निर्माण गरेपछि सत्तारुढ दल नेपाली कांग्रेस एकाएक प्रमुख प्रतिपक्ष दलको हैसियतमा पुगेको थियो ।
विश्वासको मतको तयारी गर्दै यस अघि नै सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रको केन्द्रिय समिति बैठकले विश्वासको मत र राष्ट्रिय सभा निर्वाचनका लागि ह्विप जारी गरिसकेको छ । राष्ट्रिय निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतका लागि एमाले र रास्वपाले आ आफ्नो पार्टीमा निर्णय गर्न बाँकी छ । रास्वपाले आजै पार्टीको बैठक राखेको छ ।