काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले बाहिर चर्चा चलेजस्तो वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको र अहिले सरकारलाई कसैले हटाउन नसक्ने बताएका हुन् । उनले आफ्नो नेतृत्वको सरकार बन्न थालेको दिनदेखि नै यसको आयुका बारेमा बहस हुने गरेपनि आफुले डेडबर्षदेखि जनताको काममा निरन्तर काम गर्न पाएको धारणा राखे ।
उनले आफुहरुसंग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पुरै अवधि सरकार सञ्चालन गर्न सकिने धारणा राखे । इतिहास, मुद्धा र आन्दोलनका कारणले पनि आफु नेतृत्वको सरकारलाई हटाउन सहज नभएको उनको भनाइ छ । “आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।” प्रधानमन्त्री दाहाले भने ।
माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले राजनीतिक तहमा भएका सहमतिलाई इमान्दारीताका साथ कार्यान्वयन गर्ने बताए । त्यस्तै प्रचण्डले समाजवादी क्रान्तिका लागि नयाँ बिचार बनाउन महाविधेशनमा जाने भन्दै अव बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले महाविधेशनको मिति तय गर्ने जानकारी दिए ।
यसअघि पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरिएको उल्लेख गर्दै उनले अब पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गर्ने गरि मिति तोकिने जिकिर गरे । उनले माओवादीले मात्रै देशको एकता, प्राप्त उपलव्धी र व्यवस्थालाई सुदृढ गर्न सक्ने गरि जनतामा विश्वास पैदा गर्ने बताए ।