
काठमाडौँ । क्रिप्टो करेन्सीको कारोबारीलाई लुटपाट गरेको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक हवल्दार सहित ६ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले क्रिप्टोको कारोबार गरेको आरोपमा एक जना कारोबारी र उनलाई पनि लुट्ने एक जना सहस्त्र प्रहरीका सहायक हवल्दार, नेपाल प्रहरीका सहायक हवल्दार र प्रहरी जवान समेतलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका ४ बस्ने ३६ वर्षका सशस्त्र प्रहरीका सहायक कवल्दार राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका ७ बस्ने प्रहरी सहायक हवल्दार ३५ वर्षका खगेन्द्र मल्ल ठकुरी र खोटाङको रावावेसि गाउँपालिका ४ घर भई नेपाल प्रहरीका जवान २४ वर्षका हिरा मंग्राती पनि पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न रोशन गुरुङले एक अर्व ८७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँको क्रिप्टोको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ। क्रिप्टो कारोबार गर्ने सूचना थाहा पाएपछि प्रहरी र सशस्त्र प्रहरीका सहायक हवल्दार तथा एक जवानले पक्राउ नगर्ने भन्दै १४ लाख रुपैयाँ लिएको खुलासा भएको थियो ।
थप अनुसन्धान गर्दै जाँदा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत १ जना र नेपाल प्रहरीका कर्मचारीहरु २ जना समेतको मिलेमतो देखिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताएका छन्।
तीन प्रहरीसहित ६ जनालाई पनि पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।
यस्तै, पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका २४ बस्ने २४ वर्षका कपिल बस्नेत, दोलखा रातमाटे गाउँपालिका घर भई हाल सुनसरी ईटहरी नगरपालिका ६ बस्ने ३१ वर्षका संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर ३ बस्ने २० वर्षका मनिस कुमार राय रहेका छन्।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ ६ थान मोवाइल र एउटा गाडी पनि बरामद गरेको छ। क्रिप्टो कारोबारीका आरोपी गुरुङको साथबाट २ लाख ५९ हजार बरामद गरेको छ।