
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद परिसरमा प्रश्न सोध्ने दुई जना पत्रकारको पास निलम्बन गरिएको छ ।
सङ्घीय संसद सचिवालयले पत्रकारहरू प्रकाश ओली र किशोर कुमार श्रेष्ठको संसद प्रवेश पास एक महिनाका लागि निलम्बन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ति पत्रकारहरूले संसद परिसरमा केही अघि प्रश्न गरेका थिए । ओली युवामन नेपाल र श्रेष्ठ सुनौलो नेपाल नामक सञ्चार संस्थाका लागि काम गर्छन् ।
संसद्का महासचिव स्तरीय निर्णयबाट मंगलबार सो निर्णय गरिएको सङ्घीय संसदका प्रवक्ता एकराज गिरीले सिधाकुरालाई बताए ।
‘हिजोको निर्णयअनुसार एक महिनाका लागि उनीहरूलाई निलम्बन गरिएको छ’ प्रवक्ता गिरीले भने । प्रवेश पास निलम्बनको कारण भने संसदले खुलाएको छैन। गत फागुन ४ गते संसद बैठकबाट निस्कँदै गरेका प्रधानमन्त्री ओलीलाई पत्रकारद्वयले संसद परिसरमा ‘तपाईलाई हिटलर र तानाशाह भनेर जनताले भन्छन् नी ’ भनेर प्रश्न गरेका थिए । तर, उनीहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएनन् ।
फागुन ५ गतेको संसद बैठकमा एमाले नेताहरूले प्रधानमन्त्रीलाई प्रश्न गर्ने पत्रकारहरूको नियत ठिक नभएको भन्दै आपत्ति जनाएका थिए ।
तर, अहिले तिनै पत्रकाहरुमाथि संसद सचिवालयले कारबाही गरेको छ । संसद सचिवालय स्रोतले भने एमाले नेताहरूको दबाबका कारण यस्तो निर्णयमा पुगेको बताउँछन् ।
‘प्रधानमन्त्रीको सचिवालय र एमाले नेताहरुमार्फत बढी नै दबाब थियो,’ स्रोतले भन्यो, ‘दुई सातासम्म त दबाब झेलेर कारबाहीको विवादास्पद निर्णय नगर्ने भन्ने नै थियो । तर, अलि धेरै नै प्रेसर भएपछि यस्तो निर्णय गरिएको हो ।’
एमालेका कुन नेता मार्फत दबाब आएकाे भन्ने विषयमा भने संसदका अधिकारीहरुले केही खुलाउन चाहेनन् ।
स्रोतकाअनुसार पास नै खारेज गर्ने दबाब भए पनि संसद सचिवालयले गलत सन्देश जाने भन्दै एक महिनाका लागि मात्रै पास निलम्बन गर्ने निर्णय गरेको हो ।
यस विषयमा बुझ्न प्रधानमन्त्रीकाे सचिवालयमा पटक पटक सम्पर्क गर्दा पनि काेही पनि सम्पर्कमा आउन चाहेनन् ।
फाल्गुन २१, २०८१ ०१:२१ मा प्रकाशित