काठमाडौँ । काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार राम चमार र नेहा रौनियारको अन्तरजातीय विवाहसम्बन्धी विषयमा उठेका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित भएको समेत बताए ।
उनले आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको बताए। “अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर छ”, गृहमन्त्री लेखकले भने ।
त्यस्तै उनले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृहमन्त्री लेखकले आफु जातीय विभेद र छुवाछुत विरुद्ध रहेको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो आदर्शप्रतिको अवमूल्यन भएको बताए । उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको बताउँदै अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको र कानूनलाई अक्षरस पालना गराउनु आफ्नो कतव्र्य रहेको उनको धारणा छ ।
त्यस्तै उनले उक्त घटनामा आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको र प्रहरीलाई निर्देशन दिएअनुसार प्रतिवेदन समेत सार्वजनिक गरिसकेको बताए ।