काठमाडौँ । दोलखाका स्याङ्बोशेर शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा यतिबेला मोल्दोभाबाट टर्कीका लागि उडेका छन् । केहीबेरमा उनीहरूको जहाज टर्कीको राजधानी स्तानबुल अवतरण हुनेछ । आजै राति ८ बजे उनीहरु नयाँ दिल्लीका लागि उड्नेछन् र भोलि बिहानको ठिक ५ बजे उनीहरु दिल्ली उत्रिने कार्यतालिका छ ।
दिल्लीमा ५ घण्टाको ट्रान्जिटपछि दिउँसोको २ बजे उनीहरु एयर इन्डियाको जहाजमार्फत काठमाडौँ अवतरण गर्नेछन् । युद्धग्रस्त युक्रेनमा सपनाको खोजी गर्दै रोजगारीका लागि उडेका उनीहरु ७ महिना लामो अलपत्र जीवन भोगेर सङ्घर्षपूर्ण उद्धार पहलपछि भोलि नेपाल फर्कदैछन् ।
जर्मनीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको पहलमा उनीहरु युक्रेनबाट मोल्दोभा, त्यहाँबाट टर्की र दिल्ली हुँदै काठमाडौँ आउँदैछन् । दलालले भिसा सकिनु भन्दा ७ दिनअघि युक्रेन पुर्याएका शेर्पा दाजुभाइलाई अवैध भन्दै युक्रेनको सेनाले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखेको थियो ।
पासपोर्ट देखाएपछि आफ्नै देश फर्किएर जाउ भनेर पटक पटक मोल्दोभाकाे बोर्डसम्म युक्रेनका सेनाले पठाउँदा पनि उनीहरु आफ्नै देशको बेवास्ताले फर्कन सकेनन् । तर, जर्मनीको दूतावासमा राजदूत फेरिएपछि र गैरआवासीय नेपाली सङ्घले पहल थालेपछी उनीहरु नेपाल आउने निश्चित बनेको छ ।
दलालले भन्थ्यो युद्ध छैन, आकर्षक तलब हुन्छ
गत असारमा उनीहरु दुवै जना नयाँ दिल्ली हुँदै आकर्षक रोजगारीको प्रलोभनमा युक्रेन पुगेका थिए । काठमाडौँबाट नयाँ दिल्ली र दिल्लीबाट मोल्दोभाकाे ट्रान्जिट भिसामार्फत उनीहरु विद्यार्थी भिसामा युक्रेन पुगे ।
स्याङ्बोशेरका अनुसार नेपालमा काम गरेर परिवार पाल्न नसकेपछि उनीहरु आकर्षक वैदेशिक रोजगारीको खोजीमा थिए । यही मेसोमा भेटिएका दलालले भारतबाट दिल्ली हुँदै मोल्दोभा भएर युक्रेन जान सकिने बताए ।
युद्ध नभएको क्षेत्रमा आर्कषक जागिर र धेरै तलब पाइने प्रलोभनमा परेर आफूहरू युक्रेन आइपुगेको अर्का पीडित फुर्वा शेर्पा बताउँछन् । तर, मोल्दोभाबाट युक्रेन छिरेको एक सातामै उनीहरु पक्राउ परे । युक्रेन सुरक्षा गार्डले पक्राउ गरेर उनीहरूलाई अवैध विदेशी घर फर्काइने शिविरमा राखेको थियो ।
शिविरमा लगिएको दिनदेखि नै आफूहरूको उद्धारका लागि दुवै जनाले हारगुहार गरिरहेको उनीहरूले सिधाकुरालाई बताए । तर, तत्कालीन जर्मनीस्थित नेपाली दूतावासले कुनै पहल गरेन । नेपालका लागि जर्मनीबाट युक्रेन मामला हेर्ने दूतावासमा उद्धारका लागि आग्रह गर्दा उल्टै किन आएको भन्दै थर्काएको स्याङ्बोशेर बताउँछन् ।
युक्रेनबाट उद्धारका लागि दूतावासदेखि परराष्ट्र मन्त्रालयसम्म धाउँदा पनि आफूहरुप्रति कुनै चासो नदेखाएपछि उनीहरु मिडियामार्फत उद्धार अपिलका लागि लागेका थिए । उनीहरूले कुनैपनि बाटो भएर प्रलोभनमा परेर युक्रेन नजान पनि सबैलाई अपिल गरेका छन् ।
कसरी भयो उद्धार
नेपाली दूतावास वर्लिनका नियोग उपप्रमुख शागर फुँयालकाअनुसार उनीहरुको नेपाल फर्किने टिकट निश्चित भएपछि युक्रेनी सेनाले दुबै जनालाई युक्रेनको लागि श्रीलंकन अनरीकाउन्सिलरको रोहवरमा मोल्दोभा सीमामा लगेर छोडिदिएका थिए । त्यसपछि उनीहरु मोल्दोभाबाट बिहीबार दिउँसो १५ः२० बजेको टर्किस् एयरलाइन्समार्फत नेपालतर्फ लागेका हुन् । फुर्वाकाअनुसार गैरआवासीय नेपाली सङ्घले टिकट निश्चित गरिदिएपछि घर फर्कने बाटो बनेको हो । उनीहरूले नेपाल फिर्ता प्रयास गर्ने सबैलाई धन्यवाद समेत दिए ।