![]( https://sidhakura.com/content/upload/post_image/hp-rabi-lamichhanepnggkkohzpeq.png)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिवादी रहेको साहारा सहकारीको मुद्दामा वादी तथा जोहरवाला तर्फको बहस सकिएको छ ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा अहिले प्रतिवादी रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता शुसिल पन्तले बहस सुरु गरेका छन् ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बिहानमात्रै हाजिर भएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धवहादुर थापाले बहस गरेका थिए । साथै जोहरकर्ताका तर्फबाट पनि एक जना अधिवक्ताले बहस सुरु गरिसकेका थिए ।
तर विहिबार पनि सरकारी वकिलका तर्फबाट बहस गर्न महान्यायाधिवक्तको कार्यालयले बारा, पर्सा र धादिङ्ग जिल्ला न्यायाधिवक्ताहरुलाई चितवन पठाएको थियो ।
आज वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाका शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका भोलानाथ निरौला र धादिङ्ग जिल्लाका दशरथ पङ्गेनीले बहस गरेका छन्।
जाहेरवालाहरुको तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका छन्।
वादी र जाहेरवालाको तर्फबाट बहस सकिएसँगै अहिले प्रतिवादीको तर्फबाट बहस भइरहेको छ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले बहस गरिरहेका छन् ।
लामिछानेका तर्फका अधिवक्ताहरुले लामो बहस नगर्ने मनस्थितिमा रहेको बताएका छन् । वादी तथा जाहेरकर्ताका तर्फबाट थुनछेक लम्ब्याउन खोजे जस्तो देखिएकाले प्रतिवादी तर्फबाट एक दुई जनाले मात्रै बहस गर्ने एक अधिवक्ताले जानकारी दिए ।
उनका अनुसार प्रतिवादीको बहसपछि फेरी वादी तर्फबाट जवाफी बहस सकिएमा आजै आदेश आउने छ ।