काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।
सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । कांग्रेससँगको गठबन्धन भत्काएर एमाले सहितको गठबन्धन बनाएका प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन रहेको छ ।
हाल २७४ सदस्यीय प्रतिनिधिसभामा बहुमत पग्न १३८ सदस्य आवश्यक पर्छ । अहिले सत्ताा गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । जस मध्ये एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सदस्य छन् ।
यसमध्ये एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेकाले मत हाल्न पाउँदैनन् भने सभामुख देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन पाउँदैनन् ।
सत्तारुढदलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विनै जारी गरेका छन् । एमालेको संसदीय दलको मंगलबार बसेको बैठकले विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको हो ।