काठमाडाैँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले समाचार सामग्री प्रकाशन प्रशारण गरेकै आधारमा पत्रकारलाई जेल सजाय हुनु कल्पनाबाहिरको विषय भएको बताएको छ । सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई अदालतको अवहेलनाको विषयमा जेल सजाय तोक्ने निर्णय चिन्ताजनक रहेको बताएको छ ।
नाफिजका सचिव दिपक भट्टले एक विज्ञप्ती सार्वजनिक गर्दै सिधाकुराले प्रकाशित गरेको समाचारजन्य विषयवस्तु सम्बन्धमा सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘नाफिजका महासचिवसमेत रहेका उक्त अनलाइनका कार्यकारी सम्पादक नवीन ढुंगानासहितका पत्रकारहरुबाट उक्त सामग्री हटाई माफीसमेत मागेको अवस्थामा भएको जेल चलानप्रति हाम्रो गम्भीर चासो र चिन्ता छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘समाचार सामग्री प्रकाशन प्रशारण गरेकै आधारमा जेल सजाय हुनु हाम्रो कल्पनाबाहिरको विषय हो ।’
कानुनको अधीनमा अदालतबाट हुने न्याय निरुपणमा आफूहरुको सम्मान हुँदाहुँदै माफी मागेर सामग्री हटाइसकेको अवस्थामा पत्रकारलाई जेल पठाउने निर्णय चिन्ताजनक रहेको नाफिजले जनाएको छ। ‘अदालतको अवहेलना भएको भनी मुद्दा दायर भएको भनिएको प्रकाशित तथा प्रशारित सामग्री हटाएको र माफीसमेत मागिसकेको अवस्थामा पत्रकारलाई जेल चलान गर्दा प्रेस स्वतन्त्रतामा पर्न जाने असरप्रति नाफिज चिन्ता व्यक्त गर्दछ ।’, विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै नाफिजले नेपालको संविधानले प्रदान गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा ध्यान दिनसमेत आग्रह गरेको छ ।