काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई आतंकित पार्ने ज्यादतीको मूल्य कांग्रेस एमालेलाई चर्को पर्ने बताएका छन् ।
मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रहरी प्रशासनले ज्यादती गरेको बताए । हिजो कांग्रेस र एमालेले रविलाई प्रधानमन्त्रीको अफर गरेको आफैले सुनेको र आफ्नै आँखाले देखेको बताए ।
‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु,’ उनले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’
साथै उनले लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही छैन भन्ने सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको बताए ।
उनले भने, ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुपर्यो रु छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि, रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ।'
उनले रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्यो भन्दै प्रश्न समेत गरे । साथै सरकारको ज्यादती विरुद्ध संसदको विशेष अधिवेशन बोलाएर संसदबाटै विरोध गर्ने जनाए । उनले भने ' विपक्षी र सरकारमा भएकाहरुको पनि समर्थनमा काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं ।’
मंसिर २५, २०८१ ०२:३५ मा प्रकाशित