काठमाडाैँ । कोशी प्रदेश अशान्त बनेको १० दिन भयो । अरुणपूर्वका ९ जिल्ला बन्दको आज तेस्रो दिन हो । यातायात सेवामा हड्तालका कारण जनजीवन कष्टकर बनिरहेको छ भने आन्दोलनरत सर्वसाधारण र प्रहरीबीच छुट्टाछुट्टै ठाउँमा झडप समेत भइरहेको छ । सोमबार पहिचान पक्षधरले काठमाडौँमा सांस्कृतिक नाटक सहित नै प्रदर्शन गरे ।
यो सबैको एउटै मात्रै कारण हो, पाथीभरा देवीको मन्दिरसम्म पुग्ने केबलकार परियोजना निर्माण सुरु हुनु ।
व्यवसायी चन्द्र ढकालको कम्पनी पाथीभरा देवी केबलकार दर्शन प्रालिले मन्दिरसम्म पुग्नेगरि केबलकारको परियोजना अघि बढाएको छ ।
दुई दशमलव ७५ किमि लामो दूरीको केबलकार निर्माणका लागि तीन अर्ब रुपैयाँ लगानी गरिँदै छ । तर, पाथिभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यस्तो पवित्र क्षेत्रमा व्यापारीलाई पोस्नेगरी आधुनिक पूर्वाधार बनाउन नहुने भन्दै स्थानीयहरु चरणबद्ध आन्दोलनमा छन् । तर, सरकार व्यवसायी ढकालको परियोजना निर्माणका लागि पक्षपोषणमा उत्रिँदा स्थानीय भने सरकार विरुद्ध क्रोधित देखिन्छन् ।
यसरी सुरु भयो विवाद
पाथीभरामा केबलकार बनाउन नदिने सशक्त विरोधका बावजुत गत कात्तिक २४ गते पाथीभरा केबलकारको शिलान्यास गरियो । शिलान्यासको झण्डै साढे २ महिनापछि माघ ८ मा केबलकार निर्माण कम्पनीले परियोजना निर्माण कार्य अघि बढायो । सरकारको साथमा कडा सुरक्षा घेराबीच केबलकार परियोजना अघि बढेपछि असन्तुष्ट बनेका स्थानीयहरु आन्दोलनको तयारीमा लागे र माघ १२ गते केबलकारको निर्माण क्षेत्र बलुडाँडामा विरोध कार्यक्रम सुरु भयो ।
केबलकार निर्माणको विरोध गर्दै मुक्कुम्लुङ बचाउ सङ्घर्ष समितिले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागि चार जना स्थानीय घाइते भए ।
प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मङ्गल लावती घाइते भएका हुन् । यमबहादुर लिम्बू र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीले गोली चलाएपछि आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको हो ।
त्यसैको विरोधमा नो केबलकार समूहहरूले गत मङ्गलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द गरेको थियो । आन्दोलनरत पक्षले आयोजना गरेको माघ २० र २१ गतेको नौ जिल्ला ९लिम्बूवान० बन्दले जनजिवन थप कष्टकर बन्दै गएको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा लगायतको जिल्ला बन्दको घोषणा गरिएको आज दोस्रो दिन हो ।
आन्दोलनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बूवान आमहड्ताल घोषणा गरिने आन्दोलनरत पक्षको एक समूहका संयोजक डेकेन्द्र सिंह लिम्बुले बताए ।
अपारदर्शी कम्पनी र सरकारको बल मिच्याईं
ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडामा मोटर बाटोको ट्रयाक पुगेपछि उद्घाटन गर्न २०४४ पुस १९ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य शाह फुङलिङ पुगेका थिए ।
त्यस क्रममा ओलाङचुङगोलाका व्यापारी छवाङ तेन्जिङ शेर्पाले पाथीभरामा केबलकार बनाउनुपर्छ भन्ने प्रस्ताव गरेको स्थानीय जानकारहरु बताउँछन् । राजाको संकेतपछि छवाङ, सोनाम तेन्जिङ र फुर्बु वालुङले २०५४ मा कञ्चनजङ्घा केबलकार प्रालि दर्ता गरेका थिए ।
केबलकार निर्माणको तल्लो स्टेसन बनाउन काफ्लेपाटीमा ९२ रोपनी जमिन भएका ध्रुबनारायण श्रेष्ठले २०७२ मा पुनः सोही ठाउँमा पाथीभरा देवी केबलकार दर्शन प्रालि नामक कम्पनी दर्ता गरे ।
त्यसअघि नै सङ्घाइ समूहका सुभाष सङ्घाइले त्रिवेणी केबलकार कम्पनी पनि दर्ता गरिसकेका थिए । सङ्घाइले केबलकार निर्माणका लागि सरकारबाट अनुमति लिन फुङलिङ नगरपालिका, तत्कालीन फुरूम्बु, फावाखोला गाविस र पाथीभरा क्षेत्रका छ वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षबाट सिफारिससमेत लिएको थियो ।
तर, फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले २०७५ जेठ १३ मा अन्य दुई वटा कम्पनीलाई पन्छाएर पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दियो ।
अनुमति लिएको केही वर्षमा ध्रुबनारायण श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि यती समूहले किन्यो । एमाले पार्टीले संरक्षण गर्ने यति समूहले केबलकार कम्पनी किन्नुको ठिक एक वर्ष अघि पाथिभरा क्षेत्र विकास समितिमा सरकारले केपी ओलीका पूर्व स्वकीय सचिव पुष्पबहादुर बरुवाललाई अध्यक्षमा नियुक्त गर्यो ।
एउटा संकास्पद संयोग के छ भने बरुवाल यति समूहले किनेको केबलकार कम्पनीका सञ्चालक पनि थिए भने पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष पनि ।
मालपोत स्रोतकाअनुसार केबलकारको बेसस्टेशन रहने काफ्लेपाटीको २९ रोपनी जग्गा उनै बरुवाल र अर्का व्यक्ति सुरेन्द्र बहादुर गुरुङको नाममा थियो र सो जग्गा बरुवाल र गुरुङले चलनचल्तीको मूल्य भन्दा झण्डै १० हजार प्रतिशत महँगोमा यति समूहको केबलकार कम्पनीलाई बिक्रि गरेको मालपोत कार्यालय ताप्लेजुङले जनाएको छ । ‘पाथिभरामा सरकारी प्रतिनिधि र केबलकार कम्पनीका मालिक पनि एउटै मानिस रहेको कागजातबाट देखिन्छ । र उनैले बजारको चलनचल्तीको मूल्य भन्दा कयौँ गुणा महँगोमा जग्गा बिक्रि गरेको पनि खुल्छ,’ मालपोत कार्यालय ताप्लेजुङ स्रोत भन्छ,‘२९ रोपनी जग्गा किनबेच हुँदा २ करोड ३४ लाख ७७ हजार रुपैयाँ कुल राजश्व तिरिएको छ ।’
ओलीका पूर्व स्वकिय रहेका बरुवालको घर झापा कोरोबारी हो । उनको २०७८ जेठमा कोरोनाका कारण अमेरिकामा निधन भएको थियो ।
सो कम्पनीमा यती ग्रुपका प्रबन्ध निर्देशक ल्हाक्पासोनाम शेर्पा र उनको परिवारको नाममा ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत शेयर बरुवाल र सुरेन्द्र बहादुर गुरुङ लगायतको नाममा थियो ।
तर,राजनीतिक पहुँच र प्रभावशाली यतिका सञ्चालक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यति समूह केबलकारबाट पछि हट्यो । २०८० जेठमा यति समूहले चन्द्र ढकाल नेतृत्वको आइएमई ग्रुपलाई उक्त केबलकार बिक्री गरेको थियो । ढकाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष समेत हुन् ।
पाथीभरा की मुक्कुमलुङ
धेरै पहिले पाथीभराको गुरूयोजना बनाउन पुरातत्व विभागको टोली बोलाइएको थियो । उक्त टोलीमा आएका कर्मचारीले मूर्तिहरू राखेर सांस्कृतिक अतिक्रमण भएको र पाथीभरालाई प्राकृतिक रूपमै राख्न यसलाई हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
त्यही अभिव्यक्तिपछि पहिला यसको नाम मुक्कुमलुङ रहेको र अतिक्रमण भएर पाथीभरा नाम राखिएको आवाज किराँत क्षेत्रमा उठ्न थाल्यो । उनीहरु पाथीभरालाई मुक्कुमलुङ ठान्छन् र त्यसलाई प्रकृतिले जस्तो दिएको त्यस्तै राख्नु पर्ने माग गरिरहेका छन् ।
अहिले श्री लिम्बूको नेतृत्वमा मुक्कुमलुङ संरक्षण समिति, खगेन्द्र फेम्बुको नेतृत्वमा पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिले केबलकार परियोजनाको विरोधको नेतृत्व गरिरहेको छ ।‘मुक्कुमलुङ’ लाई अतिक्रमण गरेर ‘पाथीभरा’ बनाइएकाले ‘मुक्कुमलुङ’ नै राख्न आन्दोलनरत पक्षले सरकारलाई पटकपटक ज्ञापनपत्र पनि बुझाइ सकेको थियो ।
मुक्कुमलुङमा सांस्कृतिक अतिक्रमण गरिएको र लिम्बू समुदायको मुन्धुमीस्थल भएको उनीहरूको दाबी छ । आन्दोलनरत समूहको एकमात्र माग मुन्धुमीस्थलमा कुनै पनि हालतमा ठूला पूर्वाधार बनाउन नदिने रहेको छ । पहिचान पक्षधर नेता अहिले मुक्कुमलुङ संरक्षण अभियानमा समेत जोडिएका छन् ।
वार्ता टोली गठन
विवाद चर्किदै गएपछि सरकारले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्रालयले आइतबार अबेर विज्ञप्ति जारी गरेर वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । सहसचिव भट्टराई संयोजकत्वको बार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत छन् ।
उता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि वार्ता र संवाद भइरहेको बताए । ‘प्रदेश र सङ्घीय सरकारमार्फत पनि वार्ता र समन्वय हुनेछ । जिल्लाबाट पनि गरिँदै छ,’ उनले भने ‘जिल्लामा शान्ति सुरक्षा प्रवाह, अलपत्र परेका यात्रुरुको उद्धारलगायत काम गरिरहेका छौँ । आज पनि केही तीर्थयात्री र पर्यटक जिल्ला भित्रिएका छन् ।’
परियोजना विवादका विषयमा आइएमी ग्रूपका अध्यक्ष चन्द्र ढकालले यसअघिका विवादका विषयमा आफू जानकार नभएको बताउँछन् । सातै प्रदेशमा एक–एक वटा केबलकार बनाउने आफ्नो योजनाअनुसार पाथीभरामा पनि केबलकार स्थापना गर्न लागेको उनको भनाई छ । स्थानीयसँग धेरै चरणको छलफल र सहमतीपछि मात्रै योजना अघि बढाएको बताउँदै आएका छन् । पाथीभरामा व्यापारभन्दा आर्थिक विकास र स्थानीयलाई रोजगारीमा प्राथमिताका दिने बताउँदै आएका छन् ।