काठमाडौँको बबरमहलमा यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बालेर सडक वारपार गर्न मिल्ने प्रविधि जडान गरिएको छ ।
काठमाडौँ महानगरले जिल्ला अदालत काठमाडौँ अगाडिको सडकमा जडान गरेको उक्त प्रविधि ‘पेलिकन क्रसिङ’ सोमबारदेखि संचालनमा आएको हो ।
काठमाडौँको विभिन्न स्थानमा अटोमेटिक ट्राफिक लाइट जडान गरिएका छन् । जहाँ सवारी चाप नहुँदापनि यात्रुहरु कुरेर बस्नुपर्ने बाध्यता थियो । तर बबरमहलमा जडान गरिएको उक्त प्रविधिले ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनेमा सरोकारवाला निकायको विश्वास छ ।
उक्त प्रविधिमा कुनै पनि यात्रुले बटन थिचेपछि २ मिनेटपछि रातो बत्ती बल्छ र सवारीहरु रोकिन्छन् भने यात्रुहरु सडक पार गर्न सक्छन् । उक्त रातो बत्ती ३० सेकेण्डसम्म बलिरहने महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए ।
उनका अनुसार पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउन सहयोग गर्नेछ । त्यस्तै महानगरले काठमाडौँका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको उनले बताए ।