रौतहट । रौतहटको पश्चिमी भेगमा पर्ने गुजरा नगरपालिका-१ कोठियारस्थित लमाहा खोला पुल अलपत्र छ । निर्माण सम्पन्न गर्न पाँच पटक म्याद थप भएपनि हालसम्म पुल बनिनसक्दा स्थानीयले सास्ती व्योहोर्न बाध्य छन् ।
लमाहा खोलाको १ सय २५ मिटर लामो सो पुल निर्माणको जिम्मा पप्पु/शिवशंकर जे.भि.,गरुडा, रौतहटले लिएको थियो । चन्द्रपुर र गुजरा नगरपालिकालाई जोडने प्रिस्ट्रेस आरसिसि पुल निर्माणको लागी २०७३ साल जेठ २ गते सम्झौता भएको थियो । २०७५ साल असोज १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको सो पुल पाँच पटक म्याद थप्दासमेत बन्न सकेको छैन ।
ठेकेदारले पटकपटक म्याद थप्ने तर समयमा काम नगर्दा आफूहरुले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । ‘लमाहा खोलामा पुल बन्ने आशामा गुजराबासी बसेको वर्षौँ भयो । हरेक बर्खामा पुल तर्न जोखिम मोल्नुपर्ने बाध्यता छ भने बाढी आएको बेला आवतजावतनै बन्द हुन्छ ।’, स्थानीय सुमन सापकोटाले बताए ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका अनुसार सो पुल निर्माण गर्न ९ करोड २२ लाख ७७ हजार ५ सय ५९ रुपैयाँमा ठेक्का लागेको थियो । हालसम्म उक्त पुलको ७१ प्रतिशत काम सम्पन्न भइसकेपनि बाँकी काम ठेकेदारले समयमै पुरा नगर्दा बनेको संरचनासमेत जिर्ण बन्दै गएको छ ।
३ वटा स्पान रहेको सो पुल निर्माणको लागी डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई ५ करोड ४५ लाख ४५ हजार ८ सय २८ रुपैयाँ भुक्तानी गरिसकेको कार्यालयका सुचना अधिकारी ई.शिव नारायण प्रसाद साहले जानकारी दिए ।
सरकार र सरकारका निकायले ठेकेदार पक्षलाई कारबाही नगर्दा आफूहरुले सास्ती पाएको स्थानीयको गुनासो छ । ‘पुल बन्ने आशै आशमा ८ बर्ष बित्यो तर बनेन । अब त पुल बन्ने आश पनि मरिसक्यो ।’, स्थानीय राजकुमार कटवाल बताउँछन् ।
त्यस्तै उनले आफूले ठेकेदारको सामान राख्न घर दिएको, पुल बनाउन बत्तीसमेत आफ्नै घरबाट लगेपनि ती दुवैको भुक्तानी बाँही रहेको बताए ।