
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भारतको उडिसास्थित केआईआईटी विश्व विद्यालयबाट निकालिएका विद्यार्थीलाई भर्ना लिन आफू तयार रहेको बताएको छ । मङ्गलबार एक सूचना जारी गर्दै विश्व विद्यालयले यस्तो घोषणा गरेको हो ।
शिक्षाध्यक्षको कार्यालयले एक सूचना जारी गर्दै विद्यार्थीले चाहे भर्ना लिने जनाएको हो । ‘भारतको केआईआईटी विश्व विद्यालयबाट फर्किन बाध्य भएका विद्यार्थीहरूले चाहे त्रिविमा सञ्चालित कार्यक्रममा क्रेडिट ट्रान्सफर सुविधा अन्तर्गत भर्ना गर्न सकिने व्यहोरा जानकारी गराइन्छ ’ त्रिविले भनेको छ ।
त्रिविले त्यस्तो विद्यार्थीहरूका लागि सम्पर्क गर्न भन्दै आग्रह पनि गरेको छ । गत फागुन ४ गते आइतबार भारतको उडिसास्थित केआईआईटी विश्व विद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत भेटिएकी थिइन् ।
उनको शङ्कास्पद मृत्युबारे प्रश्न गर्दा क्याम्पसको होस्टेलबाट एक हजार नेपाली विद्यार्थीहरू निकालिएका थिए । उनीहरूलाई क्याम्पसले बस पार्क तथा रेल स्टेशनमा ल्याएर छोडेको थियो । त्यसपछि विद्यार्थीहरू दुःखसाथ नेपाल आएका थिए । नेपाल आएका विद्यार्थीहरूले आफूहरू भारत फर्कन त्रास रहेको बताइरहेका छन् ।