काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।
बालुवाटरमा बसेको सत्ता साझेदार दलहरुको बैठकले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार यस अघि गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज गरेर सोमबार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको हो ।
कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको ज्यान गएको थियो ।
घटना लगत्तै गृहमन्त्रालयले डिआइजीको नेतृत्वमा तीन सदस्य छानबिन समिति बनाएको थियो ।
गृहले बनाएको छानबिन समिति सुजनका परिवारले नमान्ने, भन्छन्ः 'गोली हान्नेलाई नै कसरी पत्याउनु' ?
तर उक्त छानबिन समितिले न्यायिक छानबिन गर्न नसक्ने भन्दै मृतकका परिवारले उच्चस्तरीय छानबिन समितिको माग गरेका थिए ।
उनीहरुले शनिवार प्रधानमन्त्रीलाई भेटेर उक्त छानबिन समिति खारेज गर्दै अर्को छानबिन समितिको माग गरेका थिए ।