काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद देवेन्द्र पौडेलले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । सोमबार कास्की प्रहरीको हिरासतमा पुगेर पौडेलले लामिछानेसँग भेट गरेका हुन् ।
लामिछानेलाई भेटेर बाहिरिने क्रममा पौडेलले राज्यले रवि लामिछानेविरुद्ध पूर्वाग्राहीपूर्ण व्यवहार गरेको बताएका छन् । सरकारको काम गलत गर्नेलाई कारबाही र निर्दोषलाई न्याय दिलाउने काम भएको तर रविको हकमा सो नभएको नेता पौडेलले बताए । ‘यो पूर्वाग्रह हो । पूर्वाग्रह राज्यले राख्नुहुँदैन । पूर्वाग्रह नराखिकन गल्ती गर्ने नउम्कने र निर्दोषलाई नफसाउने, यो सिद्धान्तअनुसार राज्य अघि बढ्न सक्नुपर्थ्याे । पछिल्लो समय त्यो दिशातर्फ सरकार अघि बढेको हामीले महसुस गरेका छैनौँ ।’, नेता पौडेलले भने ।
त्यस्तै सहकारीसँग सम्बन्धित अन्य थुप्रै मुद्दाहरुलाई बेवास्ता गर्दै पूरै राज्यसंयन्त्र एक व्यक्तिको पछि लाग्नु पूर्वाग्रह भएको नेता पौडेलको ठहर छ । ‘सहकारीसँग सम्बन्धित अरु थुप्रैको प्रश्न उठेको छ, छानबिन समितिले थुप्रैको बारेमा छानबिन गर्ने भनेको छ, केही त छानबिनको प्रक्रियामा हुनुहुन्छ तर केहीलाई उन्मुक्ति दिएर केही पनि गरिएको छैन । यो पूर्वाग्रह हो ।’, उनले भने ।
त्यस्तै उनले आजको रवि लामिछानेसँगको भेटमा उनको स्वास्थ्य अवस्था, राज्यको व्यवहारबारे जानकारी लिएको उनले बताए । नेता पौडेलले आफूहरुको भेट सरकार बनाउने र फुटाउनेसँग सम्बन्धित नभएको प्रष्ट्याएका छन् ।