कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।
आज बिहान महेन्द्रनगरबाट काठमाडौं आउदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षी उमेश भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी रहेका छन् ।
यस्तै भीमदत्त नगरपालिका १६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त २ का सुदीप भट्ट र भीमदत्त ९ का बिसनदत्त भट्ट रहेका छन् ।
दुर्घटनामा घाइते भएका ३० जना मध्ये ९ जनाको बुटवल र अन्यको कपिलवस्तुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।