काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी र पार्टीका सभापति विरुद्ध राज्यले दुई तिहाइको रवैया देखाएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ । पार्टी कार्यालयमा भेला भएका पार्टीका कार्यकर्तालाई केहीबेर अघि सम्बोधन गर्दै उपसभापति डोल प्रसाद अर्यालले यस्तो चेतावनी दिएका हुन् ।
सुशासन र भष्ट्राचार अन्त्य गर्दै जनताको जीवन बदल्ने निलो क्रान्ति सुरु गरेको पार्टीलाई ठूला र परम्परागत दलले घेराबन्दी गर्ने प्रयास गरेको उनले आरोप लगाए । ‘रास्वपा र पार्टी सभापति विरुद्ध दुई तिहाइको रवैया देखाईको छ, राजनीतिक प्रतिशोध साँध्न खोजिएको छ’ उपसभापति अर्यालले भने, ‘यो रवैयाप्रति माफी नमागे प्रतिवाद हुन्छ ।’
पार्टी र पार्टी सभापति विरुद्ध नियोजित रुपमा झुटा मुद्दा लगाउन खोजिएको उनले बताए । उपसभापति अर्यालले पार्टी कार्यकर्तालाई धैर्य हुन संयमता अपनाउन पनि आग्रह गरे ।