काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राज्यबाट अन्याय हुन लागेको भन्दै सतर्क रहन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
आइतबार साँझ पार्टी कार्यालयमा आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू माथि झुटो र पूर्वाग्रहपूर्ण प्रतिशोध साँधिएको बताए ।
८७ अर्ब सहकारी ठगीमा परेका पीडितलाई न्याय नदिन र त्यसबाट आफू चोखिन काङ्ग्रेस एमालेले अराजनीतिक प्रतिशोध साँधेको लामिछानेले बताए । देशका प्रधानमन्त्री देखि प्रहरी प्रमुखसम्मले संसद्मा कुनै प्रमाण र आरोप नदेखिएको प्रमाण पेश गर्दा पनि आफूमाथि रिसइबी साँधिएको उनको भनाई छ ।
‘अदालतमा मुद्दा छैन, मेरो नाममा उजुरी छैन, संसद्को समितिमा आइजीपी कुनै प्रमाण छैन भन्छन्, प्रधानमन्त्री संसद्मा कुनै दोषी छैन भन्छन्, अहिलेका प्रधानमन्त्री पनि संसद्मा छानबिन गर्नु पर्दैन भन्थे, छानबिन समितिले पनि सहकारीमा प्रमाण छैन भन्छ म कसरी दोषी भएँ,’ सभापति लामिछानेले भने, ‘म माथि अन्याय हुँदैछ, राजनीतिक प्रतिशोध साँधिन खोजिदैँछ।’ सभापति लामिछानेले सहकारी पीडित र आफूहरू दुवैमाथि अन्याय गर्ने प्रयास भएको बताए । उनले थपे ‘मैले केही बिराएको छैन्, डराएको पनि छैन, सबैलाई हेक्का रहोस् दुई तिहाइको यो सरकारलाई हेक्का रहोस् ।’
लामिछाने आफू मान्छे बेचेर राजनीतिमा नआएको भन्दै बेचिएको मान्छे बचाएर राजनीतिमा आएको पनि स्मरण गरे । उनले कानुनको सम्मान गर्ने भन्दै रास्वपालाई मिडिया ट्रायल गरेर तर्साउने कार्य नगर्न पनि प्रशासनलाई आग्रह गरे ।