काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरादरबारको जग्गा हिनामिनासम्बन्धी मुद्दामा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै गृहमन्त्री लेखकले शेरादरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र गलत ढंगले सो जग्गा कसैको नाम वा कम्पनीमा लगेको पाइए कारबाही गर्ने बताएका हुन् । “यस विषयमा अनुसन्धान हुन्छ, कारबाही अघि बढ्छ”, उनले भने, “त्यो जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुन्छ ।”
गृहमन्त्री लेखकले सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको बताएका छन् । “सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको छ, सुशासनको सुनिश्चिता गर्न सरकार प्रतिबद्ध छ”, गृहमन्त्री लेखकले भने ।
त्यस्तै मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको जनाउँदै उनले जनताबाट आवधिकरुपमा निर्वाचित भएर राजनीतिक दलबाट गठन भएको सरकार मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्षम हुने जिकिर गरे । “सरकारमाथि सबैले विश्वास गर्नुपर्छ, कमी कमजोरी भए खबरदारी गर्नुपर्छ”, उनले भने ।
उनले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र कारबाही जहिले पनि हुनसक्ने बताए ।