युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको विमान इजरायल गएको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको हो ।
दुबई ट्रान्जिट हुँदै इजरायल पुगेको आजै राति ९ बजे नेपाल फर्किने छ । युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका छन् ।
तर आज भने २५४ जना विद्यार्थीलाई नेपाल फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै अन्य उडानमा आउन चाहने नेपालीको भाडा समेत सरकारले तिर्ने बताइएको छ ।
आजको उडानमा आउन नसकेको विद्यार्थीलाई तत्कालै अर्को उडानबाट ल्याइने मन्त्रालयले जनाएको छ ।
जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन् ।
प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने अन्यले बङ्करमा लुकेर ज्यान जोगाएका थिए ।