
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरु सरकारबाटै संरक्षित भएको आरोप लगाएको छ ।
सोमबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टचार मौलाएको र भ्रष्टाचारीहरू सरकारवाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए ।
भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अबिलम्वन कडा भन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसंग माग गरेको छ । बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको बिरोधमा मतदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारी मुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र सम्वादको माध्यमबाट ताप्लेजुङ केवलकारको समस्या समाधान गर्न र दूध र उखुको भुक्तानी गर्न सरकारसंग माग गरिएको महासचिव भुसालले बताए ।
उनले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए । बैठकले जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डो¥याउने गरि आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भुसालले जानकारी दिए ।
गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग समेत बैठकले गरेको छ । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ । त्यस्तै पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको महासचिव भुसालले बताए ।