
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१, भगवानपुरकी रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
बलात्कारको घटना मिलाउन संलग्न आठ जनालाई पक्राउ गरिएको अनुसन्धानको नेतृत्व गरिरहेका मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले बताएका छन् । “आठ जनालाई नियन्त्रणमा लिएका छौं, उनीहरूसँग सोधपुछ भइरहेको छ,” कोइरालाले भने।
स्थानीय तीन युवकले गत माघ २७ गते बलात्कार गरेको रिंकुले बताएकी थिइन् । त्यसपछि पञ्चायत बसेर बलात्कारको घटनामा मिलापत्र गरिएको थियो । पञ्चायत बसेर बलात्कारको आरोप लागेका रूपेश मण्डलबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि माघ ३० गते रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनको हत्या गरिएको परिवारजनको दाबी छ ।
रिंकुकी आमा सीतादेवीले फागुन ८ मा आठ जना विरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा पूरक जाहेरी दिएकी थिइन् । जाहेरीमा रूपेश मण्डल, चन्दन साह, रामविनय मण्डल, नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामप्रीत साह र विन्देश्वर साहलाई विपक्षी बनाइएको थियो ।
अहिले प्रहरीले बलात्कारको घटना मिलाउन संलग्न आठ जनालाई पक्राउ गरेको हो । बलात्कारको आरोप लागेका रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल भने फरार छन् ।
पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र जबर्जस्ती करणीका आरोपित तीनै जना फरार रहेकाले थप निर्णयमा पुग्न नसकिएको एसएसपी कोइरालाले बताएका छन् ।