रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती क्षेत्री)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच वटा परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छिन् ।
धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।
उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह एकै वर्षभित्र पास गरिन् ।
उनी भन्छिन् “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । परिश्रमका कारण सफलता मिल्याे ।
उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल बताउँछीन् । मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ मा उनले स्टाफ नर्स उत्तीर्ण गरेकी उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण गरेकी उनले हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गरिरहेकी छिन् ।