काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदप्रतिको जनधारणा कमजोर हुँदै गएको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदीय गतिविधिहरु प्रभावकारी हुन नसकेका कारण संसदप्रतिको जनधारणा कमजोर हुँदै गएको बताएका हुन् ।
उनले सांसदहरु निजी काम र निर्वाचन क्षेत्रमा बढि केन्द्रीत हुँदा संसदीय गतिविधि कमजोर हुँदै गएको र ऐन कानूनहरु पनि समयमा नै अघि बढ्न नसकेको धारणा राखे । संसदीय समितिहरुलाई नियमित ढंगले सञ्चालनका लागि आफुले पटक पटक दलीय रुपमा र समिति सभापतिहरुसँग निरन्तर छलफल गरेको उनले बताए ।
सभामुख घिमिरेले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु कार्यान्वयनमा जान नसकेको धारणा राखे । विद्यालय शिक्षा विधेयकलाई छिटै पारित गर्न देखिएका अप्ठेरा समाधान गर्न, संघीय निजामति विधेयकलाई सम्पन्न गर्नका लागि पनि पटक पटक आफुले सहजीकरण गरिरहेको उनको भनाई छ ।
त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा बनेका मानकहरुलाई कम प्राथमिकता दिएको बताए । उनले सांसद, संसद सचिवालय, पत्रकार र नेपाली जनताको बीचको समुन्नयलाई ठीक ढंगले अघि बढाउन सके नेपालको संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने उल्लेख गरे ।
कार्यक्रममा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको संसदीय पत्रकारिताः अवधारणा र अभ्यास नामक पुस्तक बिमोचन गरिएको थियो ।