नेपालगञ्ज । नेपालगञ्जका आशुतोष गौतम भे १ ख ३९१२ नम्बरको बसमा बुटवल आउँदै थिए । तर उनी चढेको गाडी काठमाडौँसम्म आउन सकेन । नेपालगञ्जबाट काठमाडौँ लागि कुदेका गाडी राप्ती नदिमा खस्यो ।
आशुतोषसँगै यात्रा गरेका १२ यात्रुले घटनास्थलमै ज्यान गुमाए । घाइते २२ यात्रुको उपचार चल्दै छ । आशुतोष सकुशल छन् । उनले गाडीको ढोकाबाट हामफालेर ज्यान जोगाए ।
उनका अनुसार गाडीले प्रहरीको इन्ट्री पोस्टमा इन्ट्री छल्न खोज्दा दुर्घटना भएका हो । आँखै अगाडि गाडी राप्तीमा हेलिएको देखेका आशुतोषसँग सिधाकुराले गरेको संक्षिप्त संवाद:
"राति १० बजे लमहीबाट खाना खाएर अघि बढेका थियौँ । भालुबाङ चोकमा आउने बेला प्रहरीकाे चेक पाेइन्टमा इन्ट्री गर्नु पर्ने रहेछ । चालकले हाइड्रोलिक ढोका खोलिदिए, सहचालक झर्न खोज्दै थिए तर चालकले इन्ट्री छलेर जान स्पिड बढाए, सहचालक माथि उक्लिँदै थिए, म ढोका नजिकै परे । गाडी डिभाइडरमा ठोक्की हाल्यो, ढोकामा बल गरेर हाम फाल्दा हामी पुलमा अड्कियौँ, गाडी राप्तीमा खस्यो ।"
अपडेटः दाङ दुर्घटनामा परेका २२ घाइते, यी हुन उपचार भइरहेका अस्पताल (सूचीसहित)