
काठमाडौँ । नो केबलकार समूह र प्रहरीबीचको झडपले ताप्लेजुङ सदरमुकाम फुङलिङ तनाबग्रस्त बनेको छ । सिधाकुराकाे सम्पर्कमा आएकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बजार क्षेत्रमा आगोको मुस्लो बोकेका नो केबलकार समूह र प्रहरीबीच झडप भएको बताइन् ।
अहिलेसम्म प्रहरीतर्फ आधा दर्जन हाराहारी घाइते भएको र प्रदर्शनकारीतर्फको क्षतिको विवरण यकिन भई नसेककेको खड्काको भनाई छ ।
पाथिभरामा पैदल यात्रा गरेर बजार फर्किएका नो केबलकार समूहका प्रदर्शनकारीहरुले कोणसभा गर्ने भन्दै मसल जुलुस निकालेको प्रशासनको दाबी छ । प्रदर्शनकारीहरुले अराजक प्रदर्शन गर्न थालेपछि सुरक्षाकर्मीले रोकेको र सोही क्रममा झडप भएको खड्काकाे दाबी छ ।
उता नो केबलकार समूहका नेता डेकेन्द्र सिंह लिम्बुले भने मसाल जुलुसमा प्रहरीले अनावश्यक हस्तक्षेप गर्दा झडप भएको बताए । ‘प्रहरीले अनावश्यक बल प्रयोग गर्यो । हाम्रो साथीहरु घाइते भएका छन् । एकिन विवरण आउन बाँकी छ । बजार क्षेत्र तनावग्रस्त बनेको छ ।’
पाथिभरामा केबलकार बनाउने विषयका कारण लामो समयदेखि नो केबलबार समूह र सरकारबीच विवद जारी छ । सरकार जसरी पनि स्थानीयलाई पेलेर चन्द्र ढकाल समूहलाई केबलकार बनाउन दिने पक्षमा देखिन्छ । तर कोशी प्रदेश र देशभरका लिम्बु समुदाय भने आफूहरुको धार्मिक आस्थाको केन्द्र मुकुलुङ (पाथिभरा) मा कुनै हालतमा केबलकार बन्न नदिने अडानमा छन् ।