काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
कास्की प्रहरीले अझै ४ दिनको म्याद माग्न पाउने भएकाले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपनि अदालतमा मुद्दा पेश गर्नका लागि थप ४ दिन माग गर्न अदालत उपस्थित गराएको थियो । मंगलबार कार्यालय खुल्नासाथ अदालत लगिएका लामिछानेलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सरकारी वकिलले प्रतिवेदन बुझाउन समय लाग्ने भएको भन्दै प्रहरीले लामिछानेलाई हिरासतमा राख्न म्याद माग गरेको थियो । प्रहरीले म्याद माग गरेपछि सभापति लामिछानेले न्यायाधीशसामु एक जिज्ञासा दोहोर्याएका थिए । उनले आफूलाई पक्राउ गर्दा प्रहरीले के नयाँ प्रमाण भेटियो भन्दै न्यायाधीशसामु जिज्ञासा राखेका थिए । ‘म यत्तिका दिन त हिरासतमा बसिसकेँ, अनुसन्धानलाई सघाइसकेँ । यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, यो चाहीँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुराचाहीँ के छ ? भनेर मैले पटकपटक सोधेँ । जवाफ आजसम्म पाएको छैन ।’, न्यायाधीश बेलबासेको इजलासमा लामिछानेले भने, ‘यसलाई समाएका कारण हामीले यो जोगायौँ, अनुसन्धानमा यस्तो प्रमाण भेट्टायौँ भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थेँ श्रीमान ।’
लामिछानेले राखेको जिज्ञासामा न्यायाधीश बेलबासेले ‘तपाईंको यो अनुभव पछि काम लाग्छ ।’ भन्दै जवाफ फर्काएका थिए ।
सहकारी प्रकरणमा कास्की प्रहरीमा रहेका लामिछानेलाई प्रहरीले मंगलबार आठौँ पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराएको थियो । लामिछानेमाथि मंसिर २७ गते सातौँ पटक थपिएको म्याद सोमबार सकिएको थियो । प्रहरीले आफूहरुले पाेखराकाे सुर्यदर्शन बचत तथा ऋण सहकारीकाे अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपनि अदालतमा मुद्दा पेश गर्नका लागि थप ४ दिन समय माग गर्न अदालत उपस्थित गराएको थियो ।
सहकारी प्रकरणमा पक्राउ परेका रविलाई ९० दिन हिरासतमा राख्नकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको उनका कानुन व्यवसायीहरुले दाबी गर्दै आएका छन् । प्रहरीले आज पनि सम्पत्ती शुद्धीकरणको मुद्दामा भएको व्यवस्था देखाएर म्याद थप मागेका थिए ।
असोज २ गते पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छवि जोशीसहित लामिछानेको मुद्दा जोडिएकाले आज म्याद थपिएसँगै यो म्याद अन्तिम म्याद भएको छ । मंगलबार रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरेले बहस गरेका थिए ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धान गरेर कास्की प्रहरीले साेमबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदनसमेत बुझाइसकेको छ ।