काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाइ प्रभावित गर्ने काम उचित नभएको बताएका छन् ।
दि राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृतिले अनुसन्धानलाइ प्रभावित गर्ने देखिएको बताएका हुन् । ‘अदालतमा गएको कुरा त अनुसन्धान हुन दिनुपर्यो नि । सडकमा गएर त्यो अपराधी हैन, भ्रष्टाचारी हैन, फलानाले बेतिथि गरेको हैन भनेर सडकबाट मुद्दा उल्टाउने प्रयास भइरहेको । त्यो चाहीँ हाम्रो सरकार निष्पक्ष भएर लाग्दा देखिएको परिणाम हो, त्यसका विरुद्ध विभिन्न राजनीतिक दलहरु लागिरहेको देखिन्छ ।’, मन्त्री गुरुङले भने ।
न्यायलयमा गइसकेको बिषयमा त्यसले गर्ने निर्णयलाई सवैले मान्नुपर्ने उनले बताए । उनले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायीत्व प्रदान गर्नेमा केन्द्रीत रहेको उल्लेख गरेका छन् । गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे ।
त्यस्तै उनले सरकारको कार्यशैलीलाइ सुधारेर अस्तव्यवस्त रहेको मलुकको अवस्थालाई व्यवस्थीत गर्दै अघि बढिरहेको बताए । गुरुङले मुलकमा दिगो स्थायीत्व कायम गर्न सके मात्रै दिगो बिकास सम्भव रहेको बताउँदै सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिष्पर्धी बनाउनुपर्नेमा पनि जोड दिए ।