वीरगंज । छोरी नभएका मेयर राजेशमान सिंहको छोरी भनी नागरिकताका लागि सिफारिस दिएको भन्दै सचेत नागरिक समाज वीरगंजले वीरगंज महानगरपालिका वडा नं ३ को कार्यालय परिसरमा आइतबार नाराबाजी गर्दै प्रदर्शन गरेको छ ।
नक्कली बाबु बनेको वडाका प्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि जानाजान सिफारिस दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । मेयर राजेशमान सिंहले आफ्नी हुँदै नभएकी छोरीलाई छोरी भन्दै रबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले खुलासा गरेको थियो ।
राजेशमानले सिफारिस लिँदाको समयमा उक्त वडाका वडा अध्यक्ष बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताको सिफारिस भने उनलाई बिदा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालिन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए । वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गर्दै आएका छन् ।
त्यस्तै नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले आफैँ नक्कली बाबु बनेर नागरिकता दिलाएका कारण मेयरलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
पत्रमा मेयर सिंहले गरेको कार्य नागरिकता ऐन विपरितको कार्य भएकाले मेयर राजेशमान सिंहलाई अविलम्ब पक्राउ गरि पदबाट निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
त्यस्तै राष्ट्रियतासँग खेलवाडगर्नेलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुने र सोको जिम्मेवारी समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने चेतावनीसमेत दिएको छ ।
सम्बन्धित समाचारहरु :
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी