२७ पुस, काठमाडौँ । पञ्चायतको चर्को दबदबाका बावजुत पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा लुकिछिपी कांग्रेसी विद्यार्थी संगठनको गतिविधि २०४३ देखिनै हुन्थ्यो । २०३६ मा जनमत सङ्ग्रहको नतिजा पञ्चायतको पक्षमा भएपनि पञ्चायत विरोधीहरूको गतिविधि एक हदसम्म खुल्ला जस्तै थियो ।
पञ्चायत विरोधीको गतिविधिले संकेत गर्दथ्यो, अब पञ्चायतको दिन धेरै छैन् । पञ्चायतविरोधी आन्दोलन हाँकिरहेका क्याम्पसका विद्यार्थी नेता यस्तै हौसला बढाएर विद्यार्थीमाझ गतिविधि बढाउँथे । २०४५ को सुरुवातसम्म आइपुग्दा पञ्चायत गल्दै गएको राष्ट्रिय राजनीतिकाे संकेत वीरगंजसम्म आइसकेको थियो । भर्खरै कलेजमा छिरेका विद्यार्थीहरूलाई पञ्चायतविरोधी मोर्चामा तानिरहेका कांग्रेसी नेताहरू अब आफ्नो शासन आउने भन्दै उच्च मनोबलमा देखिन्थे । जता शक्ति उतै भीड भनेझैँ क्याम्पसका अधिकांश विद्यार्थी नेपाली कांग्रेस प्रवेश गर्ने माहोल ठाकुरराममा बनेको थियो । तीनैमध्येका एक थिए, मानविकी सङ्कायमा आईए पढ्न भर्ना भएका राजेशमान सिंह । हट्टाकट्टा र गोलो अनुहार भएका सिंह केही बलिया र हँसिला अनुहारका मान्छे क्याम्पसबाट छान्नै पर्दा पनि पहिलो रोजाईमा पर्न लायकका थिए ।
व्यवस्थाविरोधी आन्दोलनको मुखमा राजनीति गर्नेलाई पनि बलिया केटा चाहिन्थ्यो । यही बेला राजेशमानले नेपाल विद्यार्थी संघ क्याम्पस इकाइको फारम भरे । वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी भुपेन्द्रमान सिंह र रुकमेनी देवी श्रेष्ठको एक छोरी र दुई छोरामध्ये जेठो छोरा शैलेसमान सिंह र कान्छो थिए राजेशमान सिंह । २०२७ सालमा जन्मिएका राजेशमानले १९ वर्षको कलिलो उमेरमै नेपाली कांग्रेसको विद्यार्थी संगठनको सदस्य भएर राजनीतिक यात्रा सुरु गरे ।
त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम माध्यमिक विद्यालयबाट एसएलसी गरेपछि राजेशमान ठाकुरराम बहुमुखी क्याम्पस आएका थिए । फेरिदो राजनीतिक व्यवस्थाको आन्दोलन र नेपाली कांग्रेसको विद्यार्थी राजनीतिसँगै आर्थिक रुपमा चलायमान वीरगंजमा उनको चहलपहल बढेको उनलाई नेविसङ्घको राजनीतिमा प्रवेश गराउनेहरू बताउँछन् ।
वीरगञ्जमा युवाहरू जम्मा गरेर चहलपहल बढाएर व्यापारीहरूलाई सघाउने अभियानकै क्रममा सिंहले वीरगञ्जदेखि सिमारा र पथलैयासम्म धाकधम्कीको राजनीति गरेको आरोप उनलाई भोग्नेहरूको छ । जतिजति वीरगंजमा उनको चहलपहल बढ्यो, उनको राजनीतिक कद भने झनै बढ्दै गयो । नेपाली कांग्रेसका एक जना नेता भन्छन् ‘नेताका लागि युवा शक्ति चाहिन्थ्यो, त्यो राजेशमानले सघाउँथें ।’ यसरी बढेको राजेशमानको कदले उनी नेविसङ्घको जिल्ला सदस्य बने । राजेशमानको राजनीतिक कद वृद्धिसँगै त्यसको लाभका लागि युवाहरू जम्मा गर्ने र त्यसैको आडमा धाकधम्की र तस्करीको लाइन मिलाउन उद्यत् हुने गरेको ति नेता बताउँछन् । ‘वीरगञ्जको छपकैया क्षेत्रमा पकड बनाउँदै गएका सिंह युवाहरूमाझ लोकप्रिय पनि थिए,’ ‘वीरगञ्ज क्षेत्रमा मधेशी समुदायका राजनीतिक दल भर्सेज पहाडी मूलका युवाबीचको दुई धार राजेशमानकै कारण जन्मियो ।’
निरन्तर अघि बढेका राजेशमान २०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वीरगंज वडा नम्बर ३ छपकैयाको वडा सदस्यमा निर्वाचित भए । आर्थिक रुपमा सम्पन्नता बढ्दै गएसँगै राजेशमानको राजनीतिक त्रिष्णा बढ्दै गएको जानकारहरू बताउँछन् । राजनीतिमा प्रतिस्पर्धा हुन थालेपछि २०५६ सालमा उनले आफूले १० वर्ष बिताएको नेपाली कांग्रेस परित्याग गरे । चर्किदै गरेको माओवादी जनयुद्ध र सरकारले माओवादीविरुद्ध आक्रामक बनाएको कारबाहीबीच उनी लाभका लागि सत्ताको वरपर रहेको राप्रपा नजिक भएको एक नेता बताउँछन् ।
राप्रपामा केही समय बिताएका उनले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालको समेत लाभ लिए । राप्रपाबाहेक सबै राजनीतिक दलले बहिष्कार गरेको स्थानीय तहको राजाको निर्वाचन २०६० मा राजेशमान राप्रपाबाट साविक वीरगंज नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भए । सोही कार्यकाल मेयर पदमा निर्वाचित विमल श्रीवास्तवको प्रिय पात्रका रुपमा वीरगञ्जको प्रवक्तामा राजेशमान नियुक्त भएर काम गरे । वीरगंजको राजनीति र आर्थिक रुपमा वीरगंजको मूल्य जानेका सिंह जसरी पनि वीरगञ्जलाई आफ्नो नेतृत्वमा लिन चाहने मोहमा लागे । यसका लागि उनले राजनीतिक मूल्यलाई समेत बिर्सिए । पदका लागि राजनीतिक दल बदल्न सबै बल लगाए ।
२०६४ पछि जन्मिएका मधेश केन्द्रित भूमिगत र स्वतन्त्र समूहदेखि धेरै समूहलाई उनले आवश्यकता अनुसार सहयोग गरे । स्वतन्त्र समूह, तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै मधेश आन्दोलनको क्रममा विभिन्न सभा सम्मेलन तथा जुलुसमा उनी सहभागी भएको ति दलका नेताहरू बताउँछन् । तर, २०७० सालसम्म आइपुग्दा उनले ती दल र समूहको आफ्नै पतनका कारण राजनीतिमा गतिलो स्थान बनाउन सकेनन् । त्यसपछि सिंहले रोजे राष्ट्रिय मधेस समाजवादी पार्टी । शरदसिंह भण्डारीको सो पार्टी (रामसपा) बाट संविधान सभा सदस्यको उम्मेदवार भए पनि उनी पराजित भए ।
रामसपाबाट मेयरको टिकट नपाएपछि सिंह तत्कालीन लोसपा प्रवेश गरे । त्यहाँ पनि उनलाई टिकट मिलेन सिंहले सो पार्टी पनि छोडेर जसपा प्रवेश गरे । जसपाबाट पनि उनी मेयरको उम्मेदवार भएनन् । त्यो पार्टी पनि छोडेर २०७४ सालमा राजपाबाट छाता चुनाव चिन्हमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा चुनाव लडे तर जितेनन् ।
त्यसपछि राजपा फर्किए तर त्यहाँ उनको राजनीतिक रोटी सेकिएन । उनी सो पार्टी पनि परित्याग गरेर २०७८ सालमा नेकपा एमालेमा प्रवेश गरे ।
वीरगंजको राजनीतिमा उनी जति खुड्किलो र फड्को हान्दै थिए, उति नै धेरै उनको विवादास्पद छवि मौलाउँदै गयो । वडामा निर्वाचन जितेदेखि नै नगरमा पहुँच बनाएका मेयर सिंहले ठेक्का पट्टामा समेत दादागिरी र गुण्डागर्दी देखाएको उनका प्रतिस्पर्धीहरू बताउँछन् । सिंहको नेतृत्वमा भारतबाट गाडीका पार्टपुर्जाहरू अवैध रुपमा ल्याएर नगरपालिकाकै स्विमिङ पुलमा भण्डारण गरेर राख्ने र बेच्ने गरेको आरोपमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले २ ट्रक विभिन्न गाडीका पार्टसहरु बरामद गरी लगेर लिलाम गरेको कार्यालयका एक कर्मचारी बताउँछन् ।
पौडी पोखरीको ठेक्काको रकम महानगरलाई नबुझाएको आरोप उनीमाथि लाग्ने गरेको छ । त्यसो त आफू राजनीतिमा व्यस्त हुन थालेपछि आफ्ना नजिकका पात्रहरूबाट ठेक्कापट्टा चलाएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
वीरगंजकै जयप्रकाश कोइरीको नाममा पटके सवारी तथा ढाँटको ठेक्कामार्फत जबरजस्ती पैसा असुली गरेको भन्दै पर्सा प्रहरीले उनीमाथि कारबाही पनि चलाएको थियो । सो ढाँटबाट ठेक्काको २ करोड ६९ लाख तिर्न अदालतबाट आदेश भएपनि त्यसलाई सिंहले मानेका छैनन् । विवाद र राजनीतिक रङ्ग बदलीरहने सिंह २०७९ को स्थानीय तह निर्वाचन अघि पुनस् एमाले प्रवेश गरे । तर, उनी एमाले गएको केही दिनमै तत्कालीन मेयरसमेत रहेका विजय सरावगी एमाले प्रवेश गरे । सिंहले आफूलाई राजनीतिमा थप असुरक्षित देखे । उनी पुनः २०७८ चैतमा एमाले परित्याग गरी जसपामा प्रवेश गरे । जसपा प्रवेश गरेसँगै २०७९ जेठको चुनावबाट उनी वीरगंज महानगरपालिकाको मेयरमा निर्वाचित भए ।
मेयर निर्वाचित भएपछि वीरगंजको मुहार फेर्न उनले थालेका कयौँ कामहरु प्रशंसनीय छन् । खासगरी सफा सुन्दर वीरगंज अभियान, छोरीको सुरक्षा र मिचिएको सार्वजनिक सम्पत्ति फिर्ता ल्याउनका लागि उनले गरेका कामहरु उदाहरणीय छन् । तर, आफ्नो युवा अवस्थामा गरेको कतिपय कमजोरी र राजनीतिक लाभका लागि गरिएको झुटका कारण वर्तमानमा उनको सुन्दर छविलाई विगतले धमिलो बनाइदिएको छ ।
झट्ट हेर्दा आजको दिनमा मेयर सिंह वीरगंजमा सम्मानित छन् । आर्थिक नगरी वीरगंजको मुहार फेर्न उनले राम्रो थालनी गरेका छन् । तर, विगतको उनको आफ्नै गल्ति र कमजोरीका विषय जब सार्वजनिक हुन्छन् उनी प्रश्नबाट भाग्न थाल्छन् । पर्सा जिल्ला प्रशासनमा आफैँ उभिएर उनले एक युवतीलाई छोरी भनेर नागरिकता दिलाएको विषय सिधाकुराले सार्वजनिक गरिसकेको छ । तर, यसको सिधा जवाफ मेयर सिंहसँग छैन् । देशको सम्मानित महानगरको जनप्रतिनिधिको हैसियतमा रहेका मेयर सिंहले आफ्नो बारेमा उठेका प्रश्नको जवाफ दिन सक्नुपर्छ । नागरिकता किर्तेमा उनी संलग्न हुन वा होइनन् ? कसैले उनलाई दुरुपयोग गर्यो कि यो आरोप झुटो हो उनले प्रष्ट्याउनु पर्छ । आफ्नो विवादबारे स्पष्ट गर्न नसकेका मेयरबारे उनकै भेगका स्थानीहरू भने आजको दिनमा देखिएको मेयरको मुकुट नागरिकता प्रकरणबाटै उत्रिन सुरु भएको र पुरानै राजेशमान देखिन थालेको चर्चा गर्न थालेका छन् । तर, मेयर सिंहले प्रतिपक्षी, विपक्षी र विरोधी जनतालाई अलि परै राखेर आफ्नै शुभचिन्तककै लागि पनि सत्य भने भन्नुपर्छ ।
सम्बन्धित समाचारहरु :
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)