काठमाडौँ । कल्पना गर्नुहोस् त, यदि तपाईँ अहिले नै जन्मभूमि छोडेर ४६ वर्षपछि मात्रै सो ठाउँमा फर्कनु भयो । अब तपाईंले त्यो ठाउँ चिन्न सक्नु होला ?
अझ, यदि तपाईँ नेपाल छोडेर ४६ वर्षपछि नेपाल फर्किनुभयो भने अहिलेको नामोनिसाना के बाँकी रहला ?
यति भन्दै गर्दा दिमागमा केही तस्विर घुमे ?
काल्पनिक तस्वीरले मस्तिष्कमा पक्कै घर बनाए होलान् ।
तर आज हामी तपाईँलाई यस्तो एक कथा भन्दै र देखाउँदै छौँ, त्यो कथा काल्पनिक कथा नभएर वास्तविक कथा हो । अर्थात, त्यो कथा ४६ वर्षअघि नेपाल छोडेर पुनः नेपाल फर्किएका एक सिन्धुवासीको कथा हो ।
०००
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ तिनघरेका पुर्ते राना मगर, आजभन्दा करिब ४६ वर्षअघि कामको खोजीमा काठमाडौँ आएका थिए । यो अर्थात २०३५ सालतिरको कुरा हो । त्यो समयमा उनी जम्मा १७ वर्षका मात्रै थिए ।
अन्य २ जना साथी ‘साँइलो’ र ‘अम्बागुने’ सहित काठमाडौँ आएका उनीहरूले काठमाडौँकै एक स्थानीयको खेतमा काम गर्न थाले । २ दिन काम गरेपछि रत्नपार्क घुम्न पुगेका उनीहरु एक शेर्पाको नजरमा परे । ती शेर्पाले पुर्तेसहित तीनै जनालाई आफूले राम्रो काम लगाइदिने, कुर्सीमा बसेर अरुलाई काम लगाउने हो भन्दै फकाएपछि राम्रो अवसरको खोजीमा उनीहरु ती शेर्पासँग जान सहमत भए ।
‘हामीलाई गाउँबाट आएको हो भन्ने चिनेछ’, पुर्ते भन्छन्, ‘उसले म तिमीहरूलाई जागिर खिलाउँछु, सजिलो काम छ, कुर्सीमा बसेर अरुलाई काम लगाउने हो भन्यो । अल्लारे उमेर थियो, बसेर खान पाइन्छ भनेपछि किन नजाले भनेर हामीले उसलाई विश्वास गर्याैँ र उसैसँग गयौँ ।’
अपरिचित ती शेर्पाले पुर्ते र उनका साथीलाई ४ दिन लगाएर भारत र चीनको बोर्डरमा पुर्याए । कठ्याङ्ग्रिदो चिसो, त्रिपाल र पातीले बारेको कटेरोमा उनीहरूलाई राखियो । त्यस दिनपछि उनीहरूले ती शेर्पालाई कहिल्यै देखेनन् ।
काठमाडौँबाट लैजाँदा कुर्सीमा बसेर जागिर खाने बताइएकाे उनीहरूलाई त्यहाँ लगेर सडक खन्न लगाइयो ।
उनीहरूले ठेकेदारले भनेअनुसारकै काम गरे । महिना बितेपछि ठेकेदारले उनीहरूलाई पैसा बुझाउँथे तर पुर्ते र उनका साथीको पैसा समेत अर्कैले हातबाट खोसेर लग्थ्यो । उनीहरु खालीहात काम गर्न बाध्य थिए ।
उनीहरूलाई खानका लागि मुसुरोको दाल र पिठो दिइन्थ्यो । ठेकेदारले दिनरात काममा लगाउने, तर पैसा आफूले नपाएपछि उनीहरूलाई त्यहाँ बस्न पनि कठिन थियो, अन्त जान झनै सम्भव थिएन ।
२ वर्ष काम गरेपछि आफूहरुको लुगा फाटेको तर किन्न पैसा समेत नपाएको भन्दै एकदिन ठेकेदारलाई आफूहरु घर फर्कने बताए । तर, ठेकेदारले तिमीहरुलाई किनेको बताए । उनीहरुको होस उड्यो । आफू बिचिएको पत्तो पाएर उनीहरु निरास भए ।
‘लुगा फाटिसकेको थियो । एकदिन हामीले ठेकेदारलाई हामी तातो जग्गामा जान्छौँ भन्यौँ तर ठेकेदारले तिमीलाई ल्याउने मान्छेले तिमीहरुको पैसा लिएर गइसकेको छ । तिमीहरु जान पाउँदैनौँ भन्यो’, पुर्ते विगतका ती कहालिलाग्दा दिन सम्झिन्छिन्, ‘ठेकेदारले त्यसो भनेपछि पो आफूहरु बेचिएको रहेछौँ भन्ने पत्तो पायौँ ।’
उनीहरुले पानी समेत नथेग्ने कटेरो, थोत्रा कपडा, पिठो र मुसुरोको दालका भरमा थप डेढ वर्ष कटाए । अवस्था अत्यन्तै नाजुक भएपछि उनीहरु त्यहाँबाट रातारात भागेर ३ दिनपछि भारतको मनाली भन्ने ठाउँमा पुगे ।
भारतको हिमाचल प्रदेशमा पर्ने मनालीमा पुर्ते लगायत उनका साथी यसअघि बसेको बोर्डरको भन्दा केही न्यानो थियो तर चिसो भने कम थिएन ।
उनीहरु तीनै जनाले करिब डेढ महिना सोही मनाली भन्ने ठाउँमा सँगै काम गरे । त्यहाँ पनि उनीहरुले सडक बनाउने काम नै गरे । त्यस ठाउँमा आएपछि मात्रै पैसा लिन पाएको पुर्ते बताउँछन् ।
करिब डेढ महिना काम गरेपछि पुर्तेका साथी मनालीभन्दा तातो र राम्रो कामको खोजीमा हिँडे तर पुर्तेलाई मनाली नै उत्तम लाग्यो । उनले त्यहिँ बसेर काम गरे । पुर्तेले मनाली रोजे, साथीहरुले अन्तै अनि साथीको साथ पनि बाटोमै बिरायो ।
पुर्तेले आफ्नो ४ दशक बढी समय त्यही मनालीमा बिताए । भारतीय मुलकै एक युवतीसँग विवाह पनि गरे, २ छोरी, १ छोरा समेत जन्माए । तर, पारिवारिक बन्धनका कारण जन्मेको देश र गाउँ फर्कन मेसो मिलेन ।
‘उमेरमै आफ्नो देश फर्कन मन नलागेको त होइन नि तर के गर्नु, विहेबारी भयो, छोराछोरी भए ।’, पुर्ते भन्छन्, ‘मनालीमा काम गरेको पैसाले घरपरिवार हुर्काउन त धौधौ पर्थ्याे । यता आएको भए सबैको बिचल्ली हुन्थ्यो । अरु नेपाली आउँदै जाँदै गर्थे तर म भने मन मारेर बस्थेँ ।’
उनका २ छोरीहरुको भारतमै विवाह भयो, श्रीमतिको रोगले अल्पायुमा निधन भयो । श्रीमतिलाई देश लिएर आउने उनको सपनको देहवासन भयो । भाडाको कोठामा पुनः २ बाबु छोरा मात्रै रहे ।
देश छोडेको साढे ४ दशक बित्दासमेत उनले आफ्नो देश, गाउँ, ठाउँ र परिवेश भुल्न सकेका थिएनन् । मनाली पुगेका नेपालीलाई उनी आफ्नो गाउँ पञ्चायबारे सोध्थे तर त्यो पुरानो गाउँको नामले उनको गाउँको खबर कसैले पुर्याउन सकेनन् ।
पुर्ते जीवनको करिब साढे ६ दशक पहिचानविहिन बने अर्थात उनीसँग कुनै देशको नागरिकको परिचयपत्र समेत थिएन । उनलाई आफ्नो सन्तान पनि अनागरिक बन्छ कि भन्ने पिरले सँधै सताइरहन्थ्यो ।
युवा अवस्थामा प्रवेश गरेको छोरालाई आफ्नो देश देखाउनुपर्छ र आफ्नै देशको नागरिक बनाउनुपर्छ भनेर उनले ६३ वर्षको उमेरमा नेपाल फर्कने बाटो खोज्न थाले । उनको जेठी छोरी र ज्वाईँले उनलाई नेपाल पठाउन सहयोग गरे ।
उनी र उनको छोरा मनालीबाट दिल्लीको लागि गाडि चढे । दिल्लीबाट गाढी चढेर गत मंसिर १ गते काठमाडौँको स्वयम्भू ओलिएका उनलाई त्यसबखत आफू स्वर्ग आएको आभास भएको बताउँछन् ।
‘ओहो ! देश टेक्न पाउँदा त संसार जितेजस्तो भयो । जताततै नेपाली बोल्ने मानिसहरु ।’, पुर्तेले सिधाकुरासँग भने ।
उनले देश छोडेको साढे ४ दशक भएपनि गाउँका केही नाम भुलेका थिएनन्, ढाँडखोला, तेर्से, चिलाउने आदी । यी नाम लिएर काठमाडौँका मानिसहरुलाई सोधेपनि उनीहरुले यो विषयमा जानकारी नभएको बताए । त्यसपछि पुर्ते र उनका छोरा मेलम्चीको गाडी चढेर मेलम्ची बजार पुगे ।
त्यसपछि पुर्ते र उनका छोरा पुरानो बाटो पछ्याउँदै घरतर्फ उकालो लागे । घण्टौँ हिँडेपछि घरभन्दा केही तल ठूलो जङ्गल रहेको र त्यहाँ खेतमा मानिसहरु धानको बिटा लगाउँदै थिए । गाउँमा नौलौ मान्छे देखेपछि उनीहरूले पुर्तेलाई उनीहरुको पहिचान सोधे ।
पुर्तेले सबै पूराना मान्छेहरुको नाम लिए, कसैले चिन्न सकेनन् । उनी आफूले गाउँ छोड्दा सानै रहेको उनको भतिजोको नाम लिए । त्यसपछि भने गाउँलेहरुले उनको पहिचान गरे र उनको भतिजोलाई बोलाइदिए ।
‘मेरो तक्दिर बलियो रहेछ, धन्न भतिजोको नाम थाहा थियो र ति काम गर्ने मान्छेहरुले मेरो भतिजोलाई बोलाइदिए,’ पुर्ते मुस्काउँछन् ।
भतिजोले आफ्ना बाबु अर्थात पुर्तेका सानो भाईलाई समेत लिएर त्यही खेतमा आइपुगे । भाई र आफ्नो अनुहार एउटै भएपछि भाईले उनलाई चिन्न समय लगाएनन् । उनले आफूले आफ्नो घर रहेको ठाउँ, जग्गाको साँध सबै छुट्याएपछि आफन्तले पनि आफूलाई आफ्नै मान्छे भएको स्विकारेको उनी बताउँछन् ।
४६ वर्षपछि गाउँघर खोज्दै सिन्धुपाल्चोक पुगेका एक सिन्धुवासीदेखि खुसी भएर वडा कार्यालयले समेत प्रक्रिया पुराएर उनलाई नागरिकता दिलाइदिएको छ । यत्तिका वर्ष अनागरिक बनेका पुर्ते शिरमा सगरमाथाजस्तै अटल ढाकाटोपी लगाएको तस्विर अंकित नागरिकता पाउँदा दङ्ग छन् ।
जिल्ला प्रशासन र वडा कार्यालयले ३५ दिन कटेपछि छोराको समेत नागरिकता बनाइदिने बताएको पुर्ते बताउँछन् ।
उनी अब भारत नफर्कने बाचा गर्छन् । त्यस्तै छोरालाई समेत आफूले दुःख गरेर बि.कम अर्थात ब्याच्लर्स इन कमर्स पढाएको बताउने उनी छोरालाई नेपालमै कतै रोजगारी पाए बस्न सहज हुने बताउँछन् ।
जीवनको उत्तरार्धमा घर फर्किएका पुर्ते र उनका छोरा अहिलेसम्म त आफन्तको शरणमा बसेका छन् । उनीहरुसँग खान लाउन आर्थिक अभाव छ । आफन्तले गाउँमा जग्गा उपलब्ध गराइदिने बताएका छन् तर घर बनाउन समेत पैसाकाे समस्या छ । देश विदेशमा छरिएर रहेका नेपालीसामू उनी सहयोगको याचना गर्छन् ।
पुर्ते मगर उनका छोरालाई सहयोग गर्नका लागि :
सम्पर्क नम्बर : ९७६३३३६९०५, ९८०८४५३१२८
खाता नम्बर :
बैंकः ग्लोबल आइएमई बैंक (अनामनगर ब्रान्च)
खाता नम्बर : ०३९०७०१०९४८२३४