काठमाडौँ । काठमाडौँ प्रहरीले पक्राउ गरेका काठमाडौँ महानगरका चालकलाई रिहा गरेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ को पार्टी नेकपा मओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा फोहोर फाल्न महानगरबाट पठाइएका ४ वटा ट्रक र त्यसका चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
फोहोर बोक्ने गाडीका चालकलाई पक्राउ गरिएको भन्दै मेयर बालेन शाहले सामाजिक सञ्जालमा आक्रोशित हुँदै स्ट्याटस लेखेका थिए ।
त्यस लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेका चालक र ट्रकलाई महानगरको जिम्मा लगाएको हो । चालक पक्राउ परेको बारे अनभिज्ञता प्रकट गरेको प्रहरीले आफ्नो परिसरमा रहेको चार वटा महानगरको फोहोर सहितको ट्रक र त्यसका चालकलाई महानगरको वातावरण विभागको जिम्मा लगाएको जनाएको छ ।
‘परिसर हातामा रहेका ४ वटा फोहोर बोकेका ट्रक र त्यसका चालकलाई महानगरको वातावरण विभागमा बुझाइएको छ,’ प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी भने, ‘पक्राउ गरिएको विषयमा म जानकार छैन् ।’
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार फोहोर फाल्न अवरोध भएपछि महानगरले प्रतिक्रिया जनाएको बताए। प्रहरीले पक्राउ गरेका ४ जना ट्रक चालक र ट्रक अहिले रिहा भएको पनि मानन्धरले सिधाकुरालाई बताए ।