काठमाडौँ । सरकार परिवर्तनबारे बाहिर भइरहेको चर्चा हल्ला मात्रै भएको सरकारले प्रष्ट्याएको छ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक सकिए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो दाबी गरेकी हुन् ।
सरकारमा सहभागी सबै दलका मन्त्रीहरु सहभागी मन्त्रिपरिषद्को बैठक भर्खरै सकिएको भन्दै उनले सरकार परिवर्तनबारे मिडिया ट्रायल भएको दाबी गरिन् ।
‘बाहिर भइरहेको चर्चाका सम्बन्धमा प्रधानमन्त्रीले पनि सबै मन्त्रीहरुलाई ब्रिफिङ गर्नु भयो । सरकार परिवर्तनका विषयमा भएका सबै हल्लाहरु निराधार हुन्,’ मन्त्री शर्माले भनिन्,‘प्रधानमन्त्री सत्ता साझेदार दलहरुसँग नियमित छलफलमा हुनुहुन्छ ।
मन्त्रीहरु मन्त्रिपरिषद्मा हुनुहुन्छ । तर, मन्त्री बालकोट बोलाइयो भन्ने हल्ला फैलाइएको छ । जबकी एमाले अध्यक्ष कार्यकर्ता भेटघाटमा व्यस्त हुनुहुन्छ । यो सबै मिडिया ट्रायल भयो ।’
सरकारमा सहभागी दलहरु सत्ता समिकरणलाई बलियो बनाउने र प्रभावकारी नतिजा दिने कुरामा एकमत रहेको पनि मन्त्री शर्माले बताईन ।
आज बसेको मन्त्री परिषद् बैठकले ३ वटा विधेयकहरु संसदमा पेश गर्ने, जापान सरकारले उपलब्ध गराएको ३८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने लगायतको निर्णय गरेको पनि उनले जानकारी दिइन् ।